☰ open Loading... 27 September 2025|  

देवरद्वारा भाउजूमाथि एसिड प्रहार
पश्चिम नेपाल   | ७ आश्विन २०८२, मंगलवार १६:५६

विराटनगरमा लेनदेनको विवादका कारण आफ्नै देवरले प्रहार गरेको तेजाब (एसिड) बाट एक महिला गम्भीर घाइते भएकी छन्।

विराटनगर महानगरपालिका–९ धोबियारीकी २९ वर्षीया रागिनी साहमाथि उनका देवर २२ वर्षीय श्रवण साहले सोमबार बिहान एसिड प्रहार गरेका हुन्।

हाल श्रवण फरार छन् भने घाइते रागिनीको अस्पतालमा उपचार भइरहेको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार सोमबार बिहान सवा १० बजेतिर भएको विवादका क्रममा श्रवणले भाउजू रागिनीको अनुहारमा एसिड छ्यापेका थिए।

एसिडले रागिनीको अनुहारको दुवै भाग जलेको छ। उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको चिकित्सकले जनाएका छन्।

घटनालाई परिवारले गुपचुप राख्न खोजेको देखिएको छ। एक बालकले प्रहरी कन्ट्रोलमा खबर गरेपछि मात्रै घटना बाहिर आएको हो। डीएसपी चुँडालले भनिन्, ‘घाइतेका श्रीमान वा परिवारका अन्य सदस्य जाहेरी दिन मानिरहेका छैनन्। उहाँहरूलाई पटक-पटक सम्पर्क गर्दा पनि अस्पतालमा कोही नभएको जस्ता बहाना बनाइरहनुभएको छ।’

परिवारको असहयोगका बाबजुद पनि प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको उनले बताइन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानले लेनदेनको विवादका कारण घटना भएको देखाएको छ। कबाडी व्यवसाय गर्ने साह परिवारभित्रको विवादबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। एसिड प्रहार गरी फरार भएका देवर श्रवणको खोजी कार्य तीव्र पारिएको डीएसपी चुँडालले जानकारी दिइन्।