भदौ २४ गते राति कर्णालीका दुई कारागारबाट भागेकामध्ये ३५ जना कैदीहरु अझै सम्पर्कमा आएका छैनन् । रुकुम पश्चिम र जुम्ला जिल्ला कारागारबाट १२४ कैदी/बन्दी जेल तोडेर भागेका थिए । रुकुम पश्चिम कारागारका जेलर अकवीर घर्तीले ८८ जना कैदी÷बन्दी जेल डोडर भागेका थिए । ‘ति मध्ये ६४ जना कारागारमा फिर्ता भइसकेका छन्,’ जेलर घर्तीले भने, ‘२४ जना अझै सम्पर्कमा आएका छैनन् ।’
भागेका अधिकांस कैदीहरु कर्तव्य ज्यान, जवजस्ती करणी र लागूऔषधसँग सम्वन्धीत रहेको उनले जानकारी दिए । ‘केही आफै सम्पर्कमा आएका र केहीलाई प्रहरी पक्राउ गरेर ल्याएको हो,’ जेलर घर्तीले भने, ‘अन्यको पनि खोजी भइरहेको छ ।’
सम्पर्कमा नआएका २४ जना मध्ये अधिकांस रुकुम पूर्वका छन् । सम्पर्कमा नआएका कैदीहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालयमार्फत घर नजिकको प्रहरी चौकीलाई खवर गरिएको उनले बताए । ‘गाउँघरमा भएको भए अहिलेसम्म पक्राउ गरिसक्थे, भागेर अन्त गएको हुनसक्छ,’ उनले भने, ‘हामी खोजी कार्यमा छौं ।’
सोही दिन जुम्ला कारागारबाट ३६ जना कैदी भागेका थिए । ति मध्ये २५ जना कारागार फर्किएका छन् । केहीलाई प्रहरी पक्राउ गरेर कारागार ल्याएको थियो भने केही आफै सम्पर्कमा आएका थिए । ११ जना मध्ये एक जना कैदी सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले जानकारी दिए । ‘कारागारबाट भागेका ३५ जना कैदी मध्ये २५ जना कारागार फकिएका छन्, एक जना सम्पर्कमा आएका छन्,’ उनले भने, ‘बाँकी १० जनाको खोजीकार्य जारी छ ।’
फरार रहेका मध्ये अधिकांस कैदीहरु मुगु जिल्लाका हुन् । मुगुका कारागार नहुँदा अदातलले फैसला सुनाएका कैदीहरुलाई जुम्ला कारागारमा ल्याएर राख्ने गरिन्छ । प्रजिअ शर्माले मुगु प्रशासनसँग समन्वय गरेर भागेकाहरु खोज्ने काम भइरहेको बताए । ‘सम्पर्कमा नआएका अधिकांस मुगुका हुन्, मुगुमा कारागार नहुँदा कैद भुक्तान गर्न जुम्ला ल्याउने गरिन्छ,’ उनले भने, ‘मुगु प्रशासनसँग समन्वय गरेर खोजी गरिरहेका छौं ।’ सम्पर्कमा नआएकाहरु कर्तव्य जान, जवजस्ती करणी र लागूऔषध मुद्धाका हुन् ।
-नागरिकन्युजबाट