कर्णालीमा दसैँ, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना तयार गरिएको छ । प्रदेश प्रहरी कार्यालयले ‘एकीकृत चाडपर्व सुरक्षा कार्ययोजना २०८२’ तयार गरेको हो ।
दसैँ, तिहार र छठ पर्वको अवसरमा हुन सक्ने अवाञ्छित तथा आपराधिक गतिविधिहरूलाई नियन्त्रण एवं सडक सुशासन कायम गर्न उक्त योजना लागु गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ उपरीक्षक केदार खनालले बताए ।
यो सुरक्षा योजना असोज ६ गतेदेखि कार्तिक १० गतेसम्म लागु हुने खनालले जानकारी दिए । चाडपर्वको समयमा हुन सक्ने कुनै पनि आपराधिक गतिविधि तथा अवाञ्छित क्रियाकलापलाई रोकेर आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै समग्र कर्णाली प्रदेशमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउने लक्ष्य राखिएको उनको भनाइ छ ।
प्रहरी वरिष्ठ उपरीक्षक खनालले भने, ‘हालै जेनजी पुस्ताले गरेको आन्दोलनबाट शान्ति सुरक्षामा प्रतिकूल प्रभाव परेको छ, जसका कारण यो वर्षको चाडपर्वमा थप सुरक्षा जोखिम बढ्नसक्छ ।’
चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेशभर १ हजार २१८ वटा ड्युटीमा तीन हजार ९०८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ ।
प्रहरीले सुरक्षालाई बहुआयामिक बनाउन विभिन्न प्रकारका गस्ती र चेकिङलाई तीव्रता दिएको छ, जसमा ५३ वटा मोबाइल गस्ती, ११२ वटा मोटरसाइकल गस्ती, ९२ वटा क्यूआरटी (द्रुत प्रतिकार्य टोली) परिचालन र १७८ वटा पैदल गस्ती सञ्चालन गरिएका छन् । यसैगरी २० वटा लामो तथा छोटो दुरीका गस्तीसमेत परिचालन गरिएको छ ।
सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउन १३० स्थानमा पिकेट राखिएको छ भने ९२ स्थानमा नियमित, विशेष तथा आकस्मिक चेकिङ भइरहेको छ । ट्राफिकसहितको संयुक्त चेकिङ ७५ स्थानमा सञ्चालन गरिएको छ, जसले सवारी आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउन मद्दत पुर्याउनेछ ।
महत्त्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीय स्थलहरुको सुरक्षाका लागि ४३ स्थानमा प्रहरी खटाइएको प्रदेश प्रहरी प्रवक्ता खनाल बताउँछन् ।
यात्रु तथा नागरिकको सुविधाका लागि ४३ स्थानमा यात्रु सहायता तथा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । सुरक्षा सचेतनाका लागि ९ स्थानमा माइकिङमार्फत प्रचारप्रसार भइरहेको छ भने बैंक, वित्तीय संघसंस्थाको सुरक्षा तथा बजार अनुगमनका लागि ४५ स्थानमा प्रहरी खटाइएको छ ।