☰ open Loading... 4 November 2025|  

दशैंकै पानी पर्ने सम्भावना
पश्चिम नेपाल   | ११ आश्विन २०८२, शनिबार २१:१९

जल तथा मौसम विज्ञान विभागले यस वर्षको दशैंको टीकाको दिनमा पनि पानी पर्ने सम्भावना रहेकोे जनाएको छ ।

विभागले आज दशैं विशेष मौसम बुलेटिन जारी गर्दै दशैंको टीकाको दिनमा पनि पानी पर्ने सम्भावना औंल्याएको हो ।

यस वर्षको दशैं अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने भन्दै विभागले मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध समेत गरेको छ ।

विभागले अष्टमी, नवमी र दशमी (असोज १४, १५ र १६ गते) को मौसम आँकलन गरेर आज साँझ ६ बजे विशेष बुलेटिन सार्वजनिक गरेको छ । त्यसमा अष्टमी र नवमीको दिनको तुलनामा दशमी अर्थात् दशैंको टीकाको दिन पानी पर्ने बढी सम्भावना रहेको उल्लेख छ ।

विभागले जारी गरेको विशेष बुलेटिनमा दशैंको टीकाको दिनको सम्भावित मौसमी अवस्थाबारे लेखिएको छ, ‘बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा साथै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।’