पश्चिम नेपाल   | १२ आश्विन २०८२, आईतवार १४:०९
  सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–१० स्थित बसपार्क नजिक रहेको न्यु प्रसोधन कपास उद्योगमा आइतबार दिउँसो भीषण आगलागी भएको छ। प्रारम्भिक जानकारी अनुसार विद्युत सर्टका कारण आगलागी भएको हो।
प्रहरीका अनुसार अन्दाजी आइतबार दिउँसो १:०० बजेतिर आगलागी भएको सूचना आए लगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि बिरेन्द्रनगर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास थालिएको थियो।
करीब २५ मिनेटको प्रयासपछि, दिउँसो १:२५ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागीका कारण कुनै मानवीय क्षति नभएको पुष्टि गरिएको छ। तर उद्योग भने पूर्ण रूपमा जलेर नष्ट भएको छ।
उद्योग ऐरनाचोक निवासी प्रेम बहादुर खड्काको स्वामित्वमा रहेको बताइएको छ। आगलागीबाट भएको आर्थिक क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
