दैलेख — दैलेख जिल्लाको डुङ्गेस्वर गाउँपालिका–२, सेर्माकोट लाकुरीमा प्रथम वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८२ को आयोजना हुने भएको छ। “राष्ट्रको लागि खेल, स्वास्थ्यका लागि खेल” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिताको जानकारी आयोजक समिति अध्यक्ष धर्मबहादुर बिष्टले दिएका छन्।
बिजया दशमी तथा शुभ दीपावलीको अवसर पारेर आयोजना गरिएको उक्त प्रतियोगिता २०८२ साल असोज ३० गतेदेखि कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिता खुल्ला पालिका स्तरीय रहनेछ।
वडा अध्यक्ष याम बहादुर बिष्टका अनुसार प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद विकासमा टेवा पुर्याउने विश्वास लिइएको छ। उनले खेलाडीबीचको आपसी मित्रता, सशक्तिकरण र अनुशासन विकासमा पनि प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. १,००,००० (एक लाख), दोस्रोले रु. ५०,००० (पचास हजार) र तेस्रोले रु. ३०,००० (तीस हजार) नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।