☰ open Loading... 3 November 2025|  

जुम्लाबाट साढे चार हजार मेट्रिकटन स्याउ बिक्री
पश्चिम नेपाल   | २७ आश्विन २०८२, सोमबार ०६:१९

जुम्लाबाट करिब चार हजार ७२५ मेट्रिक टन स्याउ बिक्रीका लागि बाहिरी जिल्ला पठाइएको छ । कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा उक्त परिमाणमा स्याउ बिक्रीका लागि जिल्लाबाट बाहिरिएको हो ।

अझै ग्रामीण भेगको स्याउ र फुजी स्याउ बिक्रीका लागि बाहिरी जिल्ला पठाउने काम भइरहेको छ । आगामी मङ्सिरको दोस्रो सातासम्म उत्पादित स्याउको परिमाण र बिक्रीका लागि बाहिर पठाइएको तथ्याङ्क यकिन हुने कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए ।

गत वर्षभन्दा यो वर्ष स्याउ उत्पादनमा केही कमी आउने अनुमान गरिएको छ । कार्यालय प्रमुख अधिकारीले भने, “करिब ३३ करोड सात लाख ५० हजार रुपैयाँ बराबरको स्याउ बाहिरी जिल्लामा बिक्रीका लागि पठाइएको छ । पछिल्लो समय स्याउ खेतीमा किसानको आकर्षण बढ्दै गएको छ ।”

यहाँका आठवटै स्थानीय तहका २४ हजार ८३८ घरधुरीमध्ये १९ हजार २५८ घरधुरी अर्थात् ७० दशमलव पाँच प्रतिशत घरपरिवार स्याउ खेतीमा संलग्न छन् । तिला गाउँपालिकाभित्रका स्याउ किसानले गत भदौ पहिलो साता स्याउ बिक्री गरेको स्थानीय स्याउ व्यापारी पदम रावतले बताए । यहाँका अधिकांश किसानको स्याउ बगैँचा छ । प्रत्येक परिवारले एक सिजनमा कम्तीमा ४५ हजारदेखि बढीमा एक लाख रुपैयाँसम्म स्याउ बिक्री गरी आम्दानी गर्ने गरेका छन् । किसानको बगैँचामै प्रतिकिलो ७५ रुपैयाँ बढी मूल्यमा बिक्री भएको तिला गाउँपालिका–१ स्थानीय स्याउ व्यापारी रावतले जानकारी दिए ।