☰ open Loading... 4 November 2025|  

दैलेख जिल्ला अस्पताल विरामीले भरिभराउ
पश्चिम नेपाल   | २७ आश्विन २०८२, सोमबार ११:२०

विरामीको चाप बढेसंगै जिल्ला अस्पताल दैलेखले विरामीहरुलाई कुर्चीमै राखेर उपचार गरेको छ । २०४२ सालमा ओपिडीका रुपमा बनाईएको साँगुरो भवनमा बेड अभाव हुँदा कुर्चीमै राखेर उपचार गर्न थालिएको हो ।

१५ शैयाको क्षमता रहेको अस्पतालमा बिरामीको चाप अत्यधिक बढेपछि हाल ५८ बेडसम्मको व्यवस्थापन गरेर सेवा सञ्चालन भइरहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डाक्टर मनोज विश्वकर्माले जानकारी दिए । उनका अनुसार वर्षातसँगै ज्वरोका बिरामी बढेका छन् भने बालबालिकामा निमोनिया र ज्येष्ठ नागरिकमा दमका बिरामी बढी आउने गरेका छन् ।

‘गत वर्षको तुलनामा यस वर्ष गर्भवती र सुत्केरीको संख्या पनि उल्लेख्य रूपमा बढेको छ ।’ डा. विश्वकर्माले भने, विरामीको चाप बढी हुँदा बाहिरबाट बेड ल्याएर थप्ने गरेका छौं । अत्यधिक भीड हुँदा बेड अपुग हुँदा कुर्चीमै राखेर पनि उपचार गर्नुपरेको छ ।’

अस्पतालका अनुसार सुत्केरी वार्डमा पनि समस्या चर्किएको छ । १० शैयाको प्रसुती वार्डमा क्षमता भन्दा बढी सुत्केरीहरू हुँदा समस्या झन थपिएको छ । अस्पतालले प्रसुती वार्डमा पनि बेडहरु थपेर सेवा दिएको जनाईएको छ । महिनामा कम्तीमा २५ देखि ३० जनासम्मका शल्यक्रिया मार्फत प्रसूति हुने गरेको अस्पताल प्रमुख डा.विश्वकर्माले बताए ।

हाल जिल्ला अस्पतालमा ९ जना चिकित्सक कार्यरत छन् ।
जिल्लामा अनुभव भएका डाक्टरहरु आएसंगै सुर्खेत नेपालगंज जाने विरामीहरु जिल्ला अस्पतालमै आउन थालेका हुन् । जसका कारण अस्पतालमा सेवा लिन आउनेहरु बढेका बेला पछिल्लो समय मौसमी विरामीहरु बढी हुँदा अस्पताललाई सेवा दिन हम्मेहम्मे परेको छ । विरामी बढी हुँदा निजि मेडिकलमा समेत जाने गरेका छन् ।

निजी मेडिकलले चर्को मुल्यमा उपचार गरेको समेत गुनासो आएको छ । हिजाआज दैलेखमा सञ्चालनमा आएका मेडिकलमा समेत अनुगमन हुनुपर्ने आवाज उठेको छ ।