पश्चिम नेपाल   | २७ आश्विन २०८२, सोमबार १५:२८
  जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले भेरीगंगा नगरपालिका–५ स्थित बबई चेकपोष्टमा विष्फोटक पदार्थ (पटका) तथा बिना बिलको उपभोग्य सामग्री बरामद गरेको छ।
प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेका यात्रु तथा मालवाहक सवारीसाधनहरूको नियमित जाँच गर्ने क्रममा उक्त सामग्रीहरू फेला पारेको हो।
बरामद गरिएको सामग्रीमा करिब १ क्विन्टल ७५ केजी चिनी (जसको अनुमानित मूल्य रु. १७,५००) र विष्फोटक पदार्थअन्तर्गत पर्ने १०० थान ठूलो पटका तथा ८०० थान सानो पटका रहेका छन्।
प्रहरीका अनुसार, पटका विस्फोटक पदार्थअन्तर्गत पर्ने भएकाले सार्वजनिक सुरक्षालाई मध्यनजर गर्दै आवश्यक अनुसन्धान सुरु गरिएको छ। साथै, बरामद सामग्री सम्बन्धमा कसले, कहाँ लैजाँदै थिए भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।
