कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनस्वास्थ्य संकायद्वारा स्थानीय स्वास्थ्य प्रणाली व्यवस्थापन सम्बन्धी सिकाइलाई व्यवहारमा उतार्ने उद्देश्यासहित एक दिने नगरपालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम संयोजक दिलिप कुमार रावतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम स्थानीय तहका जनप्रतिनिधिदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय शाखा संयोजक तथा प्रतिनिधिको उत्साहपूर्ण सहभागितामा सम्पन्न भएको हो।
कार्यक्रममा लेकवेंशी नगरपालिका सुर्खेतका नगर प्रमुख उमेश कुमार पौडेल, उप–प्रमुख बिमला खडलुक, प्रमुख प्रशासकीय अधिकृत महेन्द्र कुमार शर्मा तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह–प्राध्यापक भरत काफ्ले उपस्थित रहे। सहभागीहरूको उपस्थिति र सहभागिताले स्थानीय स्वास्थ्य प्रणाली सुदृढीकरणप्रति भयरहित प्रतिबद्धता प्रकट भएको आयोजकले जनाएको छ।
अभिमुखीकरणका दौरान प्रशिक्षक विकास महतोले ४५ दिने सिकाइ–कार्यक्रमअन्तर्गतका लक्ष्य, योजना तथा ‘रोडम्याप’ विस्तृत रूपमा प्रस्तुत गर्दै कार्यक्रमका प्रमुख उद्देश्यहरू स्पष्ट पारे। साथै स्वास्थ्य प्रणालीका ६ आधार—सेवा प्रदान, स्वास्थ्य जनशक्ति, स्वास्थ्य सूचना प्रणाली, आवश्यक औषधि तथा प्रविधिको पहुँच, स्वास्थ्य वित्त व्यवस्थापन र नेतृत्व–सुशासन—बारे पनि सहभागीहरूलाई सहज र व्यावहारिक रूपमा जानकारी गराइएको थियो।
कार्यक्रमका सहभागीहरूले स्थानीय स्वास्थ्य सेवा सुधारका प्रभावकारी उपाय, रणनीति र समुदायमै आधारित सेवा सुदृढीकरणका दृष्टिकोणबारे महत्वपूर्ण अनुभव र ज्ञान हासिल गरेको बताएका छन्। अभिमुखीकरणले स्थानीय स्वास्थ्य प्रणालीलाई व्यवहारमै सबल बनाउने मार्ग खुला गरेको सहभागीहरूको प्रतिक्रिया रहेको छ । लोकमनी बोहोराले कार्यक्रम संचालक गर्नुभएको थियो ।
