☰ open Loading... 4 November 2025|  

मुगुम कार्मारोङ गाउँपालिकाको भवन तोडफोड
  | १८ भाद्र २०७९, शनिबार ०५:२६

मुगु । अज्ञात समूहले जिल्लाको मुगम कार्मारोङ गाउँपालिकाको भवन तोडफोड गरेको छ । पालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाका अनुसार गत बुधबार राति अज्ञात समूहले कार्यालय तोडफोड गरेको हो ।

पालिकाका कर्मचारीहरु लेखा परीक्षण गराउन बुधबार सदरमुकाम गमगढी आएका बेला राति ११ बजेतिर विद्युतको लाइन काटेर मूलढोकामा जडान गरिएको सीसी क्यामेरा निकालेर झ्याल, ढोका, दराज, टेबुल कुर्ची, कम्प्युटर लगायतका अन्य सामग्रीहरु तोडफोड गरेका हुन् ।

अज्ञात समूहले एक्कासि कार्यालय नै तोडफोड गरेपछि जनप्रतिनिधिदेखि कर्मचारीहरुलाई समेत काम गर्न असुरक्षा भएको अध्यक्ष लामाले बताए । उनले भवन तोडफोड गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेका छन् ।

मुगुम कार्मारोङ गाउँपालिकाको कार्यालय नजिकै पुलू प्रहरी चौकी हुँदा हुँदै पनि अज्ञात समूहले पालिका तोडफोड गरेका हुन् । मुगुम कार्मारोङ गाउँपालिकाको कार्यालय तोडफोड भएको भन्ने जानकारी आउनेवित्तिकै पुलु चौकीलाई कारबाही प्रक्रिया अघि बढाउन निर्देशन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले कार्यालय तोडफोड गर्ने ब्यक्तिको तीब्र खोजी भइरहेको जनाएका छन् । घटनामा संलग्नहरु पक्राउ पर्नेवित्तिकै कानूनी कारबाही गरिने उनले बताए ।