☰ open Loading... 15 September 2025|  

दुई जनाको मृत्यु, २८ घाइते
पश्चिम नेपाल   | २ आश्विन २०८०, मंगलवार १६:४१

दैलेखको महाबु गाउँपालिकामा चट्याङका कारण एक हप्तामा दुई जनाको मृत्यु भएको छ।

गत बिहीबार महाबु –१ खरिगैराका ४२ वर्षिया भूमिसरा खत्रीको मृत्यु भएकाे थियाे। त्यसपछि सोमबार महाबु–३ बाँसीका १६ वर्षिया किशोर दाहालको मृत्यु भयाे।

तीजको मेलाबाट घर फर्किने क्रममा पानी परेपछि मन्दिरमा ओत लागेका दाहाललाई चट्याङ लागेको थियो। किशोरको साथमै रहेका ५६ वर्षिया लालबहादुर विष्ट घाइते छन्। उनको वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। उनको बायाँ खुट्टामा चोट पुगेको छ।

अचेत बनेका विष्टको बाँसीदेखि दैलेख जिल्ला अस्पताल ल्याई पुर्‍याउदा समेत होस नखुलेपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको थियो।

‘शरीरमा करेन्ट लागेजस्तो भयो। त्यसपछि के भयो थाहा पाइनँ।’ विष्टले भने, ‘मेरो बायाँतिर सँगै टाँसिएर बसेका थिए किशोर। होस खुलेपछि मृत्यु भएको खबर पाएँ।’ विष्टसहित अन्य नौ जना घाइते भएका थिए। उनिहरुको जिल्ला अस्पताल दैलेखको उपचार पछि घर फर्किएका छन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बिहीबार दैलेख जिल्लाका चार स्थानमा चट्याङ परेको थियो। महाबु–१ खरिगैरा, ओखलढुङ्गा, डुङ्गेश्वर गाउँपालिका–६ लयाटी र नारायण नगरपालिका–४ तामेखोलामा चट्याङले क्षति पुर्‍याएको थियो। त्यस क्रममा १९ जना घाइते भएका थिए।

हप्तादिनभित्र चट्याङ बढी परे मानविय क्षती हुन थालेपछि स्थानीयहरु क्रसित छन् । एक पछि अर्को गर्दै गाउँभरी चट्याङ पर्न थालेसंगै आकाशबाट आवाज आउँदा डरले महावुका स्थानीयहरु घरभित्र लुक्ने गरेका छन् । यहाँका केही स्थानीयहरु दैलेख बजार तिर अस्थाई बसाई समेत सर्न थालेको स्थानीयहरु बताउँछन् ।