☰ open Loading... 5 November 2025|  

पाकेको धान खेतमै भिजेपछि किसान चिन्तित
पश्चिम नेपाल   | ३० आश्विन २०८०, मंगलवार २१:४१

कञ्चनपुरमा बेमौसमी वर्षाले पाकेको धानबाली भिजाएपछि किसान चिन्तित भएका छन्। पाकेको बाली भित्र्याउने समयमा आएको वर्षाले खेतमा धान भिजाएपछि किसान चिन्तित भएका हुन् ।

सोमबारको वर्षाले काटेको धान खेतमै भिजाएको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी किसान अनिला चौधरीले बताइन्। ‘सात/आठ कट्ठा खेतको काटेको धान भिजाएको छ, एक्कासी पानी आउँदा खेती भित्र्याउनै पाएनौँ’, उनले भनिन्, ‘भिजेको धान खेतमै छ, घाम पनि लागेको छैन।’

गाउँमै अढाइ बिघा जमिन अधियाँमा लिएर उनले खेती गर्दै आएकी छन्। अधियाँको जमिनमा उब्जाएको खेतीले वर्षभरि खाने चौधरी पाकेको धान खेतमै भिजेपछि चिन्तित छन्।’ थोरै धान कुन्युँ बनाएर राखेका थियौँ, त्रिपालले छोपेर त्यो धान जोगिएको छ’, उनले भनिन्, ‘अधियाँ बनाएर खानुपर्छ, वर्षाले पाकेको धान खेतमै भिजाएपछि समस्या थपिएको छ।’

काटेको धान खेतमै भिजेको बताउँदै उनले अझै वर्षा भए धानबालीमा बढी क्षति पुग्ने बताए। गाउँमा ठाउँठाउँमा वर्षाले धान खेतमै भिजाएको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान चेतराज चौधरीले बताए। ‘धेरैले धान भित्र्याउन सकेका छैनन्, काटेर धान चुट्नमा किसान व्यस्त छन्’, उनले भने, ‘यस्तो समयमा भएको वर्षाले किसानलाई दुःखित बनाएको छ।’