☰ open Loading... 16 September 2025|  

मौसम बदलीसँगै बढ्यो चिसो
पश्चिम नेपाल   | १२ मंसिर २०८०, मंगलवार ११:१७

आइतबारदेखि मौसम बदली भएपछि जिल्लामा चिसो बढ्न थालेको छ। यसबाट वृद्धवृद्धा, बालबालिका र बिरामी बढी प्रभावित भएका छन्। जिल्ला अस्पताल बाजुरामा समेत दम, रुघाखोकी लगायतका बिरामी बढ्न थालेको जिल्ला अस्पताल बाजुराले जनाएको छ।

चिसो मौसमका कारण दम, रुघाखोकी लगायतका बिरामी बढ्न थालेको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए। जिल्लाको पूर्वी-उत्तरी भेगको हिमाली गाउँपालिकामा बसोबास गर्ने भोटे समुदायका मानिस भेडाच्याङ्ग्रासहित सपरिवार बेंसीतिर झरेका छन्।

उनीहरू चिसो समयमा जिल्लाको ब्रहमतोला, कुल्देवमाडौं, बाह्रविस, अछाम, डोटी र सुर्खेत लगायतका जिल्लामा बसाइँ सरेर जाने गरेका छन्। लगातार दुई दिन घाम नलागेपछि चिसो ह्वात्तै बढेको हो। जल तथा मौसम विज्ञानका अनुसार अझै केही दिन सुदूरपश्चिम प्रदेश लगायतका ठाउँमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको जनाएको छ।