विहिबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागू औषधविरुद्धको कारबाहीमा ५ किलो ५४० ग्राम तयारी अफिमसहित एक जनालाई पक्राउ गरेको । जसको अन्तर्राष्ट्रिय बजार मूल्य करोडौं पर्ने अनुमान गरिएको छ ।
पक्राउ पर्नेमा जाजरकोटको जुनीचाँदे गाउँपालिका—१० का ४६ वर्षीय जयबहादुर बस्नेत रहेका छन् । कार्यालय प्रमुख शाहीका अनुसार लामो समयदेखिको सूचना सङ्कलन, विश्लेषण र निगरानी पश्चात् बुधबार चिन्छुबाट उक्त परिमाणको अफिम बरामद गरिएको हो । बस्नेतले कालो झोलामा लुकाई छिपाइ ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो ।
‘प्रारम्भिक अनुसन्धानमा उक्त अफिम जाजरकोटका विभिन्न स्थानमा उत्पादन गरी सङ्कलन गरिएको र भारततर्फ लैजाने तयारी भइरहेको खुलेको छ,’ उनले भने, ‘यो अफिमको स्थानीय बजारमा प्रतिकिलो भारु १ लाख, नेपालगन्ज पुग्दा साढे दुई गुणा र भारत पुग्दा प्रतिकिलोको करोडौँसम्म पर्ने देखिन्छ । यो एउटा ठुलो सञ्जालको हिस्सा हो र हामीले यसको जरोसम्म पुग्न अनुसन्धानलाई निरन्तरता दिएका छौँ ।’
प्रहरीले बस्नेतको साथबाट अफिमसहित एक थान डिजिटल तराजु, नगद ४,७२० रुपैयाँ, नागरिकता, विभिन्न बैंकका भौचर तथा चेकहरू समेत बरामद गरेको छ ।