गए रातिको वर्षापछि आएको बाढीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ५ र ६ जोड्ने तमोर नदी माथि रहेको बेलिब्रिज बगाएको छ ।
ठाडो खोला मानिने हेल्लोक र सिम्बुवाखोलामा आएको बाढी तमोर नदीमा मिसिदा तमोर नदी माथि रानीपुल भन्ने स्थानमा रहेको बेलिब्रिज बगाएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिए । उनका अनुसार रानीपुल भन्दा माथिको सबै क्षेत्रमा आवत–जावत अवरुद्ध भएको छ । ४ बर्ष अघि रेमिट हाइड्रोले करिब ५ करोडको लागतमा बेलिब्रिज बनाएको थियो ।
बेलिब्रिज निर्माण भएपछि फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक र वडा नं ६ लेलेप हुँदै सो भन्दा माथि ओलाङचुङगोला,घुन्सा सहितका क्षेत्रमा आवतजावत सहज भएको थियो । यसैगरी वडा नं ६ लेलेपको साँघु बगर क्षेत्रमा फाङवारी स्कुलको छेउबाट पहिरो गएको समेत पालिका अध्यक्ष लिम्बूले जानकारी दिएका छन् । सोही क्षेत्रमा गतसाल पनि पहिरो गएको थियो ।
पालिका अध्यक्ष लिम्बूले अहिलेसम्म कुनै मानवीय क्षति भएको जानकारी आफूहरूलाई नआएको समेत बताएका छन्। स्थानीयले पालिकाको वडा नं ५ सोत्लिमा क्षेत्रमा केही घर पहिरोले पुरेको आशंका गरेका छन् । तर जोखिम क्षेत्रका मानिसहरू पहिरोको जोखिम देख्ने बित्तिकै सुरक्षित स्थानमा सरेकोले पहिरोका कारण मानवीय क्षति नभएको स्थानीयको दाबी रहेको छ ।
फक्ताङलुङ गाउँपालिकाले तमोर खोलामा पानीको सतह बढेकोले खोला तथा नदीको किनारमा रहेका बस्तीका बासिन्दालाई सावधानी अपनाउन आग्रह समेत गरेको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी बेदप्रसाद गौतमले घटनाको जानकारी आउने बित्तिकै नजिकैका प्रहरी युनिटमार्फत प्रहरी टोली परिचालित भएको र विस्तृत जानकारी लिन थालिएको बताए ।