☰ open Loading... 27 September 2025|  

जंगली च्याउ खाँदा रुकुम पूर्वमा एकको मृत्यु, तीन जना बिरामी
पश्चिम नेपाल   | ७ श्रावण २०८२, बुधबार १०:२५

जंगली च्याउ खाँदा रुकुम पूर्वका एक जनाको ज्यान गएको छ भने तीन जना बिरामी परेका छन् । भूमे गाउँपालिका–५ सेराबाङका एकै परिवारका सदस्यहरुमध्ये ३ वर्षीय योजन विकको उपचारका क्रममा मृत्यु भएको हो ।

उनकी आमा ३५ वर्षीया रामकुमारी सुनार, उनका छोरीहरु ९ वर्षीया आयुषा विक र ६ वर्षीया भाग्यरेखा विक बिरामी परेको प्रहरीले बताएको छ ।

गत शुक्रबार जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा एकै परिवारका चार जना बिरामी भएको र उनीहरु ३ दिनपछि सोमबार रुकुमकोटस्थित जिल्ला अस्पतालमा आइपुगेको जिल्ला प्रहरी प्रमुख डीएसपी उमाशंकरप्रसाद यादवले बताए । उनका अनुसार जिल्ला अस्पतालमा समेत उपचार हुन नसकेपछि मंगलबार आयुषाबाहेक ३ जनालाई एम्बुलेन्समार्फत दाङतर्फ लैजाँदै गर्दा योजन विकको मृत्यु भएको हो ।

‘आमा राम कुमारी र छोरी भाग्यरेखालाई भने थप उपचारका लागि आजै दाङतर्फ लगिएको छ । र, अर्की छोरी आयुषा विकको रुकुम पश्चिम जिल्ला अस्पतालमा उपचार भैरहेको छ,’ डीएसपी यादवले भने, ‘दाङतर्फ लगिएका २ जनाको अवस्था चिन्ताजनक रहेको र रुकुम पश्चिममा उपचाररत बिरामीको अवस्था मध्यम रहेको जानकारी प्राप्त भएको छ ।’