☰ open Loading... 27 September 2025|  

दैलेखमा मलेसियाबाट फर्किएको युवाको रहस्यमय हत्या
पश्चिम नेपाल   | १३ श्रावण २०८२, मंगलवार १३:०६

वैदेशिक रोजगारी गरेर मलेसियाबाट फर्किएको एक युवकको रहस्यमय हत्या भएको छ। चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ लैनचौरका २८ वर्षीय सुरेन्द्रबहादुर शाही दैलेखको दुल्लू नगरपालिका–११ कयलकुनास्थित छामघाट खोलाको किनारमा मृत अवस्थामा फेला परेका हुन्।

२०७९ सालको असोज ३० गते मलेसिया गएका सुरेन्द्र ३३ महिनापछि असार ३२ गते नेपाल फर्किएका थिए। उनी सुर्खेतमा आफ्ना भाईबहिनी र छोराछोरीसँग १० दिन बसेपछि साउन १० गते मूलघर दैलेख जाँदै गर्दा बाटोमै उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डिएसपी) गणेशबहादुर बरालले जानकारी दिए।

प्रहरीका अनुसार सुरेन्द्रको शव घाँटी थिचिएको र टाउकोमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा भेटिएको हो। घटनास्थलमा पुगेका प्रहरी निरीक्षक देबीराम भण्डारीका अनुसार शव हेर्दा स्पष्ट रूपमा हत्या गरिएको देखिन्छ।

सुरेन्द्रका परिवारका अनुसार एक वर्षअघि उनकी श्रीमती गाउँकै अर्का पुरुषसँग विवाह गरेर गएकी थिइन्। त्यसपछि सुरेन्द्रले मलेसियाबाट फर्किएपछि अर्को महिलासँग विवाह गर्ने तयारी गरेका थिए। ती महिलाले आफू अविवाहित भएको भन्दै सुरेन्द्रसँग निरन्तर सम्पर्कमा रहेकी थिइन् र झण्डै चार लाख रुपैयाँ पनि लिएकी थिइन्।

तर नेपाल फर्किएपछि ती महिलाले आफू पहिले नै विवाह गरिसकेको र एक छोरा रहेको कुरा बताएकी थिइन्। कुरा खुलिसकेपछि सुरेन्द्रले विवाह गर्ने या नगर्ने विषयमा टेलिफोनमार्फत बुबासँग सल्लाह गरेका थिए।

सुरेन्द्रका बुबा बखत शाही भन्छन्, “सुरेन्द्रले भनेको थियो – तिमीहरू जे गछौ गर, तर केटी कस्ती हो, राम्ररी बुझ्नू।”

योजनाबद्ध हत्या गरिएको आशंका

सुरेन्द्रका परिवारजनको आशंका छ – विवाहको लोभ देखाएर पैसा असुली गर्ने, र पछि सत्यता बाहिर आउन नदिन योजनाबद्ध रूपमा उनको हत्या गरिएको हो। सुरेन्द्रले मलेसिया हुँदा घरमा रकम पठाउन छोडेका थिए। परिवारले त्यसबेला अर्को केटीलाई दिइरहेको होला भनेर मात्र अनुमान गरेका थिए।

साउन १० गते बिहान १० बजे सुर्खेतबाट हिँडेका सुरेन्द्र दिउँसो दैलेख बजार पुगिसकेको जानकारी दिइसकेका थिए। तर मूलघर नपुगी उल्टो बाटो फर्केर सुर्खेत जाने बाटोमा छामघाट खोलाको किनारमा उनको शव फेला परेको हो। घटनाले थप रहस्य पैदा गरेको छ।

स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले शव अस्पतालमा राखेको थियो। पछि परिवारले शवको पहिचान गरेका थिए।

प्रहरी अनुसन्धानमा ती महिला

सुरेन्द्रसँग विवाह गर्ने सहमतिमा रकम लिएकी ती महिलालाई अहिले प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गरिरहेको जनाएको छ। शव पोष्टमार्टमका लागि दैलेख अस्पतालमा राखिएको छ।

परिवार शोकमा, न्यायको माग

चार वर्षको छोरा, छ र आठ वर्षकी दुई छोरीसहित तीन सन्तान टुहुरा भएका छन्। “सपना बोकेर मलेसिया गएका छोरो फर्किँदा यस्तो खबर सुन्नुपर्छ भन्ने कल्पनै थिएन,” बुबा बखतले आँखा रसाउँदै भने।

घटनाले स्थानीयस्तरमा आक्रोश र चासो बढाएको छ। दोषीको पहिचान गरी कडा कारबाही गर्न स्थानीयवासी र पीडित परिवारले माग गरेका छन्।