☰ open Loading... 26 September 2025|  

(भोली) १९ गते वीरेन्द्रनगरमा देखिनेछ दैलेखी लाखे नाच
पश्चिम नेपाल   | १८ श्रावण २०८२, आईतवार १६:२६

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दैलेखी परम्परागत लाखे नाच प्रस्तुत गरिने भएको छ। दैलेखी सेवा समाज, सुर्खेतको आयोजनामा साउन १९ र २० गते दुई दिनसम्म ‘परम्परा र कला संस्कृतिको उत्थान—लाखे नाच २०८२’ भन्ने नारासहित कार्यक्रम सञ्चालन गरिने भएको हो।

समाजका अनुसार लाखे नाचको माध्यमबाट मौलिक कला, संस्कृति र परम्पराको जर्गेना गर्दै नयाँ पुस्ताबीच जागरूकता फैलाउने उद्देश्य लिइएको छ। कार्यक्रममा दैलेखबाट आएका भगवती क्लब, ज्वाला क्लब र एभरेष्ट क्लबका तीन लाखे समूहले नाच प्रस्तुत गर्नेछन्।

कार्यक्रम तालिका यस्तो रहनेछ:

साउन १९ गते (भोली):

दिउँसो २:०० बजे: कृष्ण मन्दिर, कालिनचोकबाट लाखे नाचको सुरु

२:३० बजे: वीरेन्द्रनगर नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन

त्यसपछि: घण्टाघर, लाटीकोइली डाँडा हुँदै साँझ ५:०० बजे मंगलगढी चोकबाट गणेश चोकसम्म नाच प्रदर्शन

साउन २० गते:

वीरेन्द्रनगरका विभिन्न बजार, विद्यालय, होटल तथा टोलहरुमा माग अनुसार लाखे नाच देखाइने

परम्परागत रूपमा वर्षेनी देखाइने लाखे नाच यसपटक विशेष रूपमा वीरेन्द्रनगरमा प्रदर्शन गरिँदैछ। लाखे नाच हेर्न पाउने अवसरले यहाँका स्थानीयवासी र विद्यार्थीहरूमा पनि सांस्कृतिक चेतना र चासो बढ्ने विश्वास आयोजक दैलेखी सेवा समाजले व्यक्त गरेको छ।

समाजसेवी शुसिल केसीका अनुसार, “वीरेन्द्रनगरमा दैलेखको मौलिक सांस्कृतिक धरोहर प्रस्तुत हुनुले स्थानीयस्तरमा कला–संस्कृतिको आदानप्रदान र सिकाइको अवसर समेत प्रदान गर्नेछ।”