दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा अति भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा दाङको जलकुण्डी मापन केन्द्रमा सबैभन्दा बढी दुई सय २७ मिलीमिटर वर्षा भएको छ।
यस्तै, बाँकेको सिक्टामा पनि दुई सय मिलीमिटर वर्षा भएको छ भने बर्दियाको मानपुरमा एक सय ६७ मिलीमिटर वर्षा भएको छ। बाँके र दाङमा अति भारी वर्षा हो भने बर्दियामा धेरै भारी वर्षा भएको छ। दाङमा पछिल्लो एक घण्टामै २५ मिलीमिटरभन्दा बढी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज दिउँसो र राति पश्चिम नेपालमा बढी वर्षा हुने जानकारी दिए। यद्यपि अन्य प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ।
वर्षा गराउने सानो प्रणाली बनेको भएर आज दिउँसो र रातिमा पश्चिम क्षेत्रमा बढी पानी पर्ने उनले बताए। यद्यपि मनसुन न्यून चापीय प्रणालीको असर भने नेपालभरि नै रहेको छ। जसका कारण अझै केही दिन मनसुन सक्रिय भइरहने छ।