कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दुई दिनसम्म दैलेखी परम्परागत लाखे नाचको धुम देखिएको छ । सांस्कृतिक विविधताले भरिएको दैलेख जिल्लाबाट ल्याइएको यस परम्परागत नाचले वीरेन्द्रनगरका गल्ली–गल्लीमा उत्साहको रङ भरिदिएको छ ।
वर्खे मेलाको अवसरमा दैलेखी सेवा समाज सुर्खेतको आयोजनामा लाखे नाच प्रदर्शन गरिएको हो । परम्परा र संस्कृतिको उत्थान, लाखे नाच २०८२ भन्ने नारासहित आयोजकले वीरेन्द्रनगरका विभिन्न स्थानमा नाच देखाएका हुन् ।
मंगलगढी चौकदेखि गणेश चौकसम्मको मुख्य बजार क्षेत्रमा देखाइएको लाखे नाच हेर्न हजारौं स्थानीय नागरिकहरुको बाक्लो उपस्थितिले सांस्कृतिक मोह र लोककलाको कदर प्रष्टै पारेको थियो । यसअघि दैलेखी रोड, कालिन्चौक, वीरेन्द्रनगर पालिका, घण्टाघर र लाटीकाईलीमा लाखे देखाईएको थियो ।
लाखे नाचमा दैलेखका भगवती युवा क्लब, ज्वाला क्लब र एभरेष्ट क्लबका कलाकारहरुको सहभागिता थियो । तीनवटै क्लबबाट ४५ जनाभन्दा बढी कलाकारले सांस्कृतिक पहिरनमा सजिएर मौलिक बाजागाजासहित नृत्य प्रस्तुत गरेका थिए । सिमसिम परेको झरिमा झयाउरे गितको तालमा लाखे नाचेको निकै महत्वका हेरिएको थियो ।
‘हाम्रो परम्परा हराउँदै गएको अवस्थामा नयाँ पुस्ताले मौलिक संस्कृति अनुभूति गर्न पाओस् भनेर हामीले यो नाच ल्याएका हौं ।’ आयोजक समाजका अगुवा प्रकाश केसीले बताए ।
सामाजिक अभियन्ता शुसिल केसीको अग्रसरतामा कार्यक्रम सञ्चालन भएको हो । उनले वीरेन्द्रनगरका दैलेखी व्यवसायी, कर्मचारी तथा स्थानीयवासीसँग सहकार्य गर्दै व्यक्तिगत योगदानमा कार्यक्रमको सम्पूर्ण खर्च व्यवस्थापन गरिएको जानकारी दिए ।
वीरेन्द्रनगरमा लामो समयदेखि बसोबास गर्ने कालमाक्स श्रेष्ठ भन्छन् ः ‘हामीले धेरै वर्षपछि आफ्नै शहरमा दैलेखको लाखे नाच हेर्न पायौं, यो हाम्रो लागि गौरवको विषय हो ।’
संस्कृति भन्ने कुरा पुस्ताबाट पुस्तामा जोगाएर लैजानु पर्ने निधारको गहना भएको एभरेष्ट क्लबका राजु श्रेष्ठले बताए । ‘अहिलेको पुस्ता मोबाइल र इन्टरनेटमा जति व्यस्त छ, उति नै यस्ता मौलिक संस्कृतिबाट टाढिँदै गएको छ ।’ उनले भने, लाखे नाचको माध्यमबाट हामीले नयाँ पुस्तामा संस्कृतिप्रतिको चेतना जगाउन खोजेका हौं ।’ वीरेन्द्रनगरमा यो प्रस्तुति दिन पाउँदा हामीलाई गर्व लागेको र हामी भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर गरिरहने समेत उनले बताए । हामी दैलेखका स्थानीय पर्व, चालचलन र संस्कृति लिएर सुर्खेत आइपुगेका ज्वाला क्लबका अध्यक्ष विशाल सुनारले बताए । लाखे नाच हाम्रो परम्पराको प्रतिनिधि हो । यो नाच मार्फत हामीले केवल रमाइलो मात्र गरेनौं, सन्देश पनि दिइरहेका छौं अध्यक्ष सुनारले भने, सुर्खेतमा बस्ने हाम्रो समुदायका लागि यो कार्यक्रमले पहिचान, सम्बन्ध र भावनात्मक एकता ल्याएको छ । यो हामी सबैको गर्वको विषय हो ।’
यो लाखे नाच हाम्रो संस्कृतिको मुटु भएको भगवती युवा क्लबका सदस्य तथा प्रशिक्षक मनोज बिसीले बताए । बाल्यकालमा हामीले जुन उत्साहका साथ यो नाच हेथ्यौं, अहिले पनि त्यही भावना जाग्छ । तर, नयाँ पुस्ताले त्यो अनुभूति पाउन सकिरहेका छैनन् । नाचको साना बालबालिका, युवाहरू र बुढापाका समेत नाच हेरेर झुमिरहेका छन् । यही नै हाम्रो सफलता हो ।’
क्याप्सन ः सुर्खेतमा देखाईएको लाखे नाच ।