मध्यपश्चिम नापी पेशाकर्मी समाजको १६औँ वार्षिक उत्सवको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा देशव्यापी ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। देशभरका नापी पेशाकर्मीहरूबीचको एकता, भाइचारा र साझाँ हितलाई थप मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगिता भदौ २२ गते (विहीवार) दिउँसो १ बजेबाट सुरु हुनेछ। उद्घाटन कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल प्रमुख अतिथिको रूपमा सहभागी हुने कार्यक्रम तय गरिएको छ।
तीन दिनसम्म चल्ने प्रतियोगिता साउन २२ देखि २४ गतेसम्म सुर्खेतस्थित जिल्ला ब्याडमिन्टन संघको कर्भड हलमा सञ्चालन हुनेछ। मध्यपश्चिम नापी पेशाकर्मी समाजका अध्यक्ष लोकप्रसाद धमलाका अनुसार प्रतियोगिताका लागि हालसम्म ५५ वटा टिमले दर्ता गरिसकेका छन्।
प्रतियोगिता भेट्रान, जुनियर र सिनियर गरी तीन विधामा हुनेछ। भेट्रान समूह (बढी उमेर समूह) का विजेताहरूलाई प्रथम पुरस्कार ३० हजार, द्वितीय २० हजार र तृतीय १० हजार रुपैयाँ नगद दिइनेछ। जुनियर समूहका लागि प्रथम पुरस्कार ४० हजार, द्वितीय ३० हजार र तृतीय २० हजार रुपैयाँ राखिएको छ। सिनियर समूहलाई पनि जुनियरकै समकक्ष पुरस्कार राशी तथा ट्रफी प्रदान गरिने जनाइएको छ।
त्यसैगरी तीनै विधामा उत्कृष्ट खेलाडीलाई सम्मानपत्र, नगद २/२ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ। ३ सयभन्दा बढी खेलाडीहरु वीरेन्द्रनगरमा सहभागी हुने आयोजकले जानकारी दिएको छ ।
मध्यपश्चिम नापी पेशाकर्मी समाजको स्थापना २०६६ सालमा भएको हो। संस्थाले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा विविध कार्यक्रम गर्दै आएको छ।