कर्णाली प्रदेशको पर्यटन सम्भावनालाई उजागर गर्दै प्रचार–प्रसार र प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यसहित कर्णाली पर्यटन पत्रकार मञ्च गठन गरिएको छ। शनिबार सुर्खेतको प्रमुख ऐतिहासिक पर्यटकीय स्थल काँक्रेविहार परिसरमा आयोजित कार्यक्रममा पत्रकार सुशीलकुमार खड्काको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन भएको हो।
नवगठित समितिको उपाध्यक्षमा सिर्जना बुढाथोकी, महासचिवमा ओमबहादुर शाही, सचिवमा रजनीकुमारी योगी, कोषाध्यक्षमा नविनकुमार सुवेदी चयन भएका छन्। त्यसैगरी, मिमबहादुर रावल (रमेश), जगतदल जनाला विक, खगेन्द्र शाही र चन्दा कँडेल सदस्यमा रहेका छन्। मञ्च जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा विधिवत रूपमा दर्ता भई गठन गरिएको हो।
मञ्चका महासचिव ओमबहादुर शाहीले कर्णालीका पर्यटकीय गन्तव्यहरूको पहिचान, अध्ययन, अनुसन्धान र अवलोकनमार्फत प्रचार–प्रसार गरिने जानकारी दिए।
“हामी कर्णालीका लुकेका पर्यटन सम्भावनालाई उजागर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन चाहन्छौं,” उनले भने, “पर्यटन प्रवर्द्धनमा पत्रकारको सीप र क्षमतालाई प्रयोग गरी कर्णालीलाई पर्यटकको रोजाइको गन्तव्य बनाउने हाम्रो उद्देश्य हो।”
उनले मञ्चमार्फत पर्यटन नीतिमा सुधारका लागि आवश्यक पैरवीसमेत गरिने बताए।
‘कर्णालीलाई चिनाउने पत्रकारको दायित्व’
मञ्चका अध्यक्ष सुशीलकुमार खड्काले कर्णालीको प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता र ऐतिहासिक महत्व बोकेको क्षेत्रहरू हालसम्म ओझेलमा परेको बताउँदै पत्रकारितामार्फत ती सम्भावनालाई उजागर गर्न आफूहरू प्रतिबद्ध रहेको उल्लेख गरे।
“कर्णाली आफैंमा पर्यटनका अथाह सम्भावना बोकेको प्रदेश हो। तर, पूर्वाधार र प्रचारको अभावमा धेरै गन्तव्यहरू ओझेलमा छन्,” खड्काले भने, “हामी पर्यटन पत्रकारिताको माध्यमबाट कर्णालीको समृद्धि सम्भव छ भन्ने सन्देश नीति निर्मातासम्म पुर्याउने छौं।”
उनले पर्यटन क्षेत्रका सरोकारवाला निकायसँग सहकार्य गर्दै मञ्च अगाडि बढ्ने स्पष्ट पारे।