नेपाल प्रेस युनियन मुगु शाखाको सदस्यता नविरकरण तथा नयाँ सदस्यता वितरण अभियान सुरु भएको छ । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाल प्रेस युनियनको १०० दिने सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियानको शुभारम्भ गरिएको हो ।
अभियान नेपाल प्रेस युनियन केन्द्रिय कार्य समितिको निर्देशन अनुसार साउन १५ गतेदेखि कार्तिक २१ गतेसम्म देशव्यापी रुपमा सञ्चालन भएको छ । त्यसै अनूरुप नेपाल प्रेस युनियन मुगु शाखाले १०० दिने सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियानको शुभारम्भ गरेको नेपाल प्रेस युनियन मुगु शाखाका अध्यक्ष नन्दबहादुर रोकायाले जानकारी दिए ।
मुगु शाखाले केन्द्रको सर्कुलर अनुसार सदस्यतासम्बन्धी कार्यलाई तीव्रता दिन सदस्यता अभियान सुरु गरी जिल्लाका क्रियाशील पत्रकारहरुलाई समेट्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको अध्यक्ष रोकायाले बताए । उनका अनुसार यो अभियानलाई उत्साहपूर्वक सञ्चालन हुनेछ ।
सदस्यता नवीकरणसहित नयाँ पत्रकारहरुलाई युनियनमा समावेश गर्दै संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने उनको भनाइ छ । सदस्यता अभियानले जिल्लाभित्र पत्रकारहरुको पहिचान र सहभागिता सुनिश्चित गर्ने विश्वास व्यक्त गर्नुका साथै उनले आगामी दिनमा पत्रकारहरुको सीप विकास, सुरक्षा र अधिकारका सवालमा युनियन थप जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।