सुर्खेत । गजलकार रमेश सुवेदीले प्रस्तुत गरेको “प्यारो कर्णाली” गजलले बीरेन्द्रनगरमा भेला भएका साहित्यप्रेमीलाई विशेष रूपमा भावुक बनायो। सिर्जनशील विद्यार्थी समाजले मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आयोजना गरेको तेस्रो सिजन काव्य श्रृंखला–छ गजल गायन कार्यक्रममा सुवेदीसहित नौ जना साहित्यकारलाई सम्मान गरिएको हो।
कर्णालीको माया, पीडा र सम्भावनालाई कलात्मक रूपमा उतारेको सुवेदीको गजलले दर्शकलाई आफ्नै माटो र समाजसँग आत्मीय ढंगले जोडेको प्रतिक्रिया सहभागीहरूले दिएका छन्।
“साहित्य मेरो जीवन हो। गजलमार्फत जन्मथलोको कथा भन्न पाउँदा गर्व लाग्छ,” सुवेदीले सम्मान ग्रहण गर्दै भने।
सम्मानित साहित्यकारहरू रमेश सुवेदी, ऋषि शर्मा ‘सुदामा’, महेन्द्र चन्द ‘महासागर’, धिरेन अनुपम, निराजन विष्ट, लिला ढकाल पोखरेल, सुवास गौतम, ज्ञानबहादुर नेपाली, सन्तोष श्रेष्ठ सम्मानित भएका थिए ।
कार्यक्रममा गायक तथा संगीतकार सन्तोष श्रेष्ठको स्वरमा अन्य गजलकारका कृतिहरू पनि प्रस्तुत गरिएका थिए। भरीभराउ हलमा गुञ्जिएका ती गजलहरूले केवल मनोरञ्जन मात्र नभई गाउँ–घरको कथा, मुलुकको यथार्थ र मानवीय संवेदना बोकेका कारण दर्शकले चर्को ताली बजाएर स्वागत गरेका थिए।
“अग्रजलाई सम्मान, अनुजलाई प्रेरणा” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा साहित्यले समाजलाई जोड्ने शक्ति बोकेको सन्देश प्रस्ट भएको आयोजक सिर्जनशील विद्यार्थी समाजले जनाएको छ।