पर्साको वीरगञ्ज कारागारमा एक हजार जनाको क्षमता भए पनि हाल एक हजार ३१० कैदी तथा थुनुवा छन्। जीर्ण संरचना र भीडका कारण व्यवस्थापन चुनौती थपिएको कारागारमा स्वदेशी १,०९३, विदेशी २१५ र दुई जना आश्रित बालिका रहेका छन्।
थुनुवा नौ सय ७९ र कैदी तीन सय २९ जना छन्। कारागारमा ४७ शौचालय मात्र रहेका कारण आलोपालो प्रयोग गर्नुपर्ने बाध्यता छ। मौसमी रोग देखापर्ने कैदी–थुनुवाको उपचार सामान्यतया कारागारमै हुने गरेको र गम्भीर अवस्थामा नारायणी अस्पताल पठाइने गरिएको छ।
जिल्ला कारागार पर्साका प्रमुख खिमराज भुसालका अनुसार कारागारको क्षमताभन्दा धेरै कैदी र थुनुवा हुँदा व्यवस्थापनमा कहिले काही हुने समस्या गरेको बताए ।
कारागार प्रमुख भुसालले कारागारमा रहेका कैदी तथा थुनुवामा कहिलेकाहीँ मौसमी प्रकृतिका बिरामी देखापर्ने बताए। ‘यहाँका थुनुवा तथा कैदीबन्दीमा प्रायःजसो मौसमी प्रकृतिका बिरामी देखा पर्छन्,’ उनले भने, सामान्य खालका उपचार यहाँ कार्यरत स्वास्थ्य सहायकले गर्नुहुन्छ भने अन्य बिरामीलाई भने नारायणी अस्पतालमा उपचारको लागि पठाइन्छ।’