काठमाडौं । नेपालको अग्रणी कम्प्युटर तालिम संस्था ब्रोडवे इन्फोसिसले ताइवानको राजधानी ताइपेईमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय डिजिटल प्रतिभा विकास पुरस्कार प्राप्त गरेको छ। उक्त सम्मान वर्ल्ड इन्नोभेशन, टेक्नोलोजी एण्ड सर्भिसेस एलायन्सले प्रदान गरेको हो।
क्यान महासंघका पूर्वअध्यक्ष रञ्जित पोदारका अनुसार सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको योगदानलाई उच्च मूल्यांकन गर्दै ब्रोडवे इन्फोसिसलाई यो पुरस्कार दिइएको हो। उनका शब्दमा, “डिजिटल प्रतिभालाई सीप र नवीनतामा रूपान्तरण गर्दै विश्वस्तरको जनशक्ति बनाउन ब्रोडवे इन्फोसिसले महत्वपूर्ण भूमिका खेलेको छ।”
यो पुरस्कार १३ श्रेणीका १३० उत्कृष्ट प्रस्तावहरू मध्येबाट छनोट गरी प्रदान गरिएको हो, जसमा नेपालका तर्फबाट ब्रोडवे इन्फोसिसलाई चयन गरिएको हो।
पुरस्कारप्रति आफ्नो प्रतिक्रिया जनाउँदै ब्रोडवे इन्फोसिसका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारीले भने,
“हामी डिजिटल शिक्षा, सीप विकास र नवीनतालाई प्राथमिकता दिंदै विश्वस्तरको दक्ष जनशक्ति उत्पादनमा निरन्तर लागिरहेका छौं। यो पुरस्कार नेपालमा सूचना प्रविधि विकासको यात्रामा महत्वपूर्ण कोसेढुंगा हो।”
उनले थपे, “उद्योग–अनुकूल सूचना प्रविधि शिक्षा, उच्च गुणस्तरीय डिजिटल सिकाइ र अन्तर्राष्ट्रिय स्तरमा जनशक्ति आपूर्ति नै भविष्यलाई निरन्तर पोषण गर्ने हाम्रो मुख्य प्रतिबद्धता हो।”