☰ open Loading... 27 September 2025|  

गाजा अस्पतालमा पाँच पत्रकारसहित २० को मृत्यु : विश्वभर इजरायलको निन्दा
पश्चिम नेपाल   | ११ भाद्र २०८२, बुधबार ०८:३१

गाजाको नासेर अस्पतालमा इजरायली आक्रमणको विश्वभर निन्दा भएको छ। बेलायतले यसलाई अक्षम्य भनेको छ भने युरोपेली आयोगले यसलाई पूर्ण अस्वीकार्य भनेको छ।

बेलायतले दक्षिणी गाजाको एक अस्पतालमा इजरायली आक्रमणको निन्दा गर्दै यसलाई ‘भयानक’ र ‘पूर्ण रूपमा अक्षम्य’ भनेको छ। बेलायती प्रधानमन्त्री केयर स्टारमरका प्रवक्ताले पत्रकारको सुरक्षा सधैँ सुनिश्चित हुनुपर्ने बताए र यो आक्रमणले युद्धविरामको आवश्यकता स्पष्ट भएको जनाए।

यो आक्रमणमा पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु भएको थियो।

जर्मन चान्सलर फ्रेडरिक मर्जले नासेर अस्पतालमा भएको आक्रमण पत्रकारलाई लक्षित नगरेको भन्नेमा विश्वास नगर्ने बताए।

युरोपेली आयोगका प्रवक्ता अनुआर एल अन्नौनीले अन्तर्राष्ट्रिय कानुनअन्तर्गत नागरिक र पत्रकारको सुरक्षा सुनिश्चित हुनुपर्ने बताए। ‘गाजाका नागरिकले धेरै लामो समयदेखि धेरै पीडा भोगेका छन्। हिंसाको यो चक्र तोड्ने समय आएको छ,’ उनले भने।

गाजामा मारिएका पत्रकारको सम्झनामा बेल्जियमको राजधानी ब्रसेल्समा पत्रकारले प्रदर्शन गरे। यो कार्यक्रम अन्तर्राष्ट्रिय पत्रकार महासंघले आयोजना गरेको थियो।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यो घटनालाई ‘दुखद दुर्घटना’ भनेका छन्। इजरायलले सेनाले यस विषयमा ‘व्यापक अनुसन्धान’ गरिरहेको जनाएको छ।

इजरायलमा बन्धकको रिहाइ र युद्ध तत्काल अन्त्यको माग गर्दै विरोध प्रदर्शन भएका छन् र नेतान्याहूमाथि दबाब छ।