☰ open Loading... 27 September 2025|  

अझै खुलेन कर्णाली राजमार्ग, यात्रुलाई सास्ती
पश्चिम नेपाल   | १६ भाद्र २०८२, सोमबार ११:०२

जुम्लाको चन्दननाथ नगरपालिका-४ सिंगाचाैर गाउँका बालराम नेपालीले आइतबार बिहान नेपालगन्जदेखि मोटरसाइकलबाट जुम्लाकाे यात्रा सरु गरे। उनी बिहान ठीक ११ बजे गगने खाेलामा पुगे। माथिबाट खसेको पहिरोले सडक बन्द भएकाले बालराम जुम्ला पुग्न सकेनन्।

दिउँसोभर गगने खाेलामा निरन्तर परिरहेको पानीमै बसे। साँझपख पनि सडक खुलेन। रातभरि पानीले झन सास्ती दियाे। विजाेग बनायो। उनले फाेनमा भने, ‘स-साना सवारीसाधन चल्ने अवस्था छैन। ठुलो सवारीसाधन गाह्राे छ, खुल्न अझै समय लाग्ने छ।’ डाेल्पा, हुम्ला, मुगु, जुम्ला र कालिकोटका यात्रुहरू बिचल्लीमा परेका नेपालीले बताए।

महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगहरू पीडा खेप्नुपरेको छ। उनले भने, ‘के खाने, कहाँ बस्ने समस्या छ।’ शनिबारदेखि पहिरोले अवरुद्ध भएको कर्णाली राजमार्ग अझैसम्म खुल्न सकेको छैन। सुर्खेत-जुम्ला सडक खण्डअन्तर्गत कालिकोटको शुभकालिका-१ गगने खोलामा गएको पहिरोसँगै खसेको ठ’लो ढुंगा फुटाउन नसक्दा अवरुद्ध सडक खुल्न नसकेको हो।

पहिरो पन्छाउन आइतबार बिहानदेखि दुई वटा स्काभेटर लगाइए पनि ठुलठुला ढुंगा पन्छाउन नसकिँदा सडक खुल्न नसकेको डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए। सम्भव नभए विस्फोट गरेर भए पनि खुलाउने तयारी भइरहेको छ। गगने खोलाको पहिरोले नागरिकले दुःख पाएकाले ठुला ढुंगा फुटाउन मेसिन (ब्रेकर) लगाएर होल खोप्न सुरु गरिसकेको र विस्फोटनको लागि जिल्ला सुरक्षा समितिको बैठक बसेर रक्षा मन्त्रालयको स्वीकृतिका लागि अनुरोध गरिएको छ।

‘पहल जारी छ, ठुलो ढुंगा विस्फोटन गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘आज नै नेपाली सेनाले विस्फोट गरेर सडक खुलाउँछौं।’ तीन दिनदेखि सडक अवरुद्ध हुँदा नागरिकलाई सास्ती भएको छ।

नागरिकनन्युजबाट