वडिमालिका दर्शन (२०७९/०४/२१)
विहानै अध्यारो छपछपीमा आँखा उघारियो। टायलटको कुनै व्यवस्था कहाँ हुनु! त्यसैले, झिसमिसे उज्यालोमा कोही नदेख्ने गरी हामी चौरतिर छरियौँ र खोलाको पानीको सहारा लियौँ। अलि ढिलो उठ्नेहरूलाई भने अझ टाढासम्म धाउनै पर्यो।
कैलाशगाड साँच्चिकै गहिरो रहेछ—डाँडाको गर्भ भित्रै समातिएको जलधाराजस्तो। माथिल्लो डाँडाबाट कलकल बगिरहेको सङ्लो खोला, आवाज सुन्दा आत्मा नै तृप्त हुने, हेर्दा झन् आनन्दले मन प्रफुल्ल हुने। हामीले त्यसै खोलाको निर्मल पानी बोकेर यात्रा अघि बढ्यौँ। उकालोमा लठ्ठी र पानी नै सच्चा साथी हुने रहेछन्।
कहिलेकाहीँ भन्ने गरिन्छ—मानव पानी विना सात दिन, खाना विना अठ्ठाईस दिन बाँच्न सक्छ रे। तर हाम्रो हालत भने फरक—पानी र खाना नभएर होइन, केही बेर हिँडेपछि नै ‘प्याक प्याक’ हुन्थ्यौँ।
अगाडि दुई बाटा देखिए। एउटा—तरपाया तरपाया गर्दै, सहज तर लामो बाटो। अर्को—ठाडो उकालो, छिटो त्रिवेणी पुग्ने तर सास्तिदायी। हामीजस्ता अभ्यासभन्दा रहर बढी भएकाहरूका लागि पहिलो बाटो नै उचित लाग्यो। त्यसैले, तरपाया तरपाया गर्दै अघि बढ्यौँ।
हरेक डाँडापछाडि अर्को डाँडा, अनि बीचबीचमा हरिया पाटन। यस्तै दृश्य पार गर्दै यात्रा अघि बढिरह्यो। वाटोमा सानो मन्दिर भेटियो। हामीले धजा बाँध्यौँ, पूजा गर्यौँ, भेटी चढायौँ र केही बेर आराम पनि गर्यौँ। त्यही बेला देउडा गीत घन्कियो। बुझ्दा थाहा भयो—कलाकारहरूको समूह रहेछ।
त्यहाँ भेट भए धर्मराज न्यौपानेसँग—कालिकोटको ‘कालो’। वकिल पनि रहेछन् उनी, काठमाडौंमा बस्ने। आज भने हामीसँगै यात्रा गरिरहेका। उनले वडिमालिकामाथि गीत गाउँदा सारा थकान हरायो। हामीले पनि देउडा खेल्यौँ—कसैको गीत मेलायो, कसैको पाईता। हाम्रो टोलीका डम्मर माझी र धनलक्ष्मी धिताल भने यति खप्पिस निक्लिए कि सुनिरहेकै रमाइलो। हामीजस्ता ‘होस्टेमा हैसे’हरूले पनि थकान बिर्साउने मज्जाको देउडा खेलेर यात्रा उल्लासमय बनायौँ।
पल्लो डाँडामा पुग्दा अर्की चर्चित कलाकार ईस्वु सन्ज्याल आइपुगिन्। थकाइ मारिरहेका हामीलाई देखेर हाँस्दै फोटो खिचिदिन राजी भइन्। पालैपालो हामीले स्मृतिमा उतार्यौँ। उनको चपल स्वभाव, छोटो मिठो कुरा—“घरमा झगडा नहोस् है फोटो खिचेर”—ले अझ रमाइलो थपिदियो। त्यो क्षण, त्यो भेट यात्रा जीवनकै स्मरणीय पलजस्तै रह्यो।
कलाकारलाई सम्मान गर्नैपर्छ। उनीहरूले हामीलाई गीत, संगीत र कलाद्वारा जीवनलाई नाच्न–गाउन प्रेरित गर्छन्। उनीहरूकै कारण यात्रा मात्र होइन, जीवन पनि रमाइलो हुन्छ। धर्मराज र ईस्वुलाई नमन!
यात्रा फेरि अघि बढ्यो। घाम–पानीसँग लुकामारी गर्दै हामी त्रिवेणी पाटनतर्फ लाग्यौँ। ठुलो हरियो चौर, स–साना खोला, भेडा–बाख्राको वथान, घोडा–खच्चडको आवाज—त्रिवेणी पाटन साँच्चिकै भू–स्वर्ग सरह लाग्यो।
त्यहाँ पुग्दा थाकेका शरीरलाई चिसोले गाँजेको थियो। घाम लागेपछि लत्ताकपडा सुकायौँ, थकाइ मार्यौँ। तर लेकको मौसम बदलिन समय कहाँ लाग्छ र! सेतो बादल भर्खरै नाचिरहेका थिए, केही क्षणमै कालो बादल आयो र हामी फेरि भिज्यौँ।
करिब ११ बजे हामी त्रिवेणी पाटन पुग्यौँ। त्यहाँ आराम गरेर फेरि यात्रा अघि बढ्यो—त्रिवेणी सङ्गमतर्फ। हाम्रो टोलीका दुई अग्रज सदस्य—एम.बी. गिरी र धनलक्ष्मी धिताल—वासको जोहो गर्न अघि लागेका। हामी भने फोटो खिच्दै, भिडियो बनाउँदै बिस्तारै।
तीन वर्षअघि म हेलिकप्टरमै वडिमालिका दर्शन गर्न आएको थिएँ। खराब मौसमले उकालो चढ्न नसकेर यही पाटनमै फर्किएको थिएँ। त्यसैले यो ठाउँ मसँग पुरानो सम्झनासँग गाँसिएको छ।
अन्ततः करिब दिउँसो १ बजे हामी त्रिवेणी सङ्गम पुग्यौँ। त्यहाँ मिनराज भेटिए—हिजोको अधुरो भेट सम्झिँदै। उनले हामिलाई आफ्नै पालमा लिएर व्यवस्थापन गरे। वासका लागि पठाइएका हाम्रो टोलीका दुई सदस्य पनि पछि मात्र भेटिए। खटेका जिम्मेवारीमा उनीहरूले पनि भरपुर इमान देखाएका थिए। तर मिनराजकै पालमुनि हामी सबै बसेपछि सबै कुरा सजिलो भयो।
दिउँसोको फुर्सदमा हामी पाटन घुम्न निस्कियौँ। पुरानो विश्वास अनुसार धान छर्ने र बिहानै फलेको देख्न पाए भाग्यमानी हुने रे। हामीले बिहान फलेको त पायौँनौँ तर धान भने छर्यौँ—स्मृतिका लागि भिडियोमा पनि उतार्यौँ।
त्रिवेणी पाटनको सुन्दरता, हजारौँ तीर्थालुहरूको भीड, घाम–पानीसँगको खेल—सबैले यात्रालाई अझ पवित्र बनाइरहेको थियो। आज रात त्रिवेणीमै बास, भोलि बिहानै स्नान गरेर वडिमालिका तर्फको आरोहण।
वडिमालिका दर्शन (२०८२/०४/२२)
एक्काईस गतेको रात हामी त्रिवेणी पाटनमै शान्त र सहज बितायौँ। भोलिपल्ट बिहानै स्नान गरेर मालिका मन्दिरको बाटो समाउनुपर्छ भन्ने योजनाले सबै समयमै निद्रामा ढल्किएका थियौँ।
ब्राह्ममुहूर्तमै, बिहान ४ बजे उठ्यौँ। त्रिवेणी (तीन खोलाको संगम) मा रहेको पोखरीमा स्नान गर्नेहरूको भीड भइसकेको रहेछ। एउटातिर धारा, अर्कोतिर पक्की धर्मशाला—सबै संरचना प्रदेश सरकारले कालिकोट वन कार्यालयमार्फत निर्माण गराएको भन्ने सुन्दा मनमा कृतज्ञता भरियो।
सक्दो चाँडै पवित्र जलमा डुबुल्की मार्ने र धारामा स्नान गर्ने तीर्थालुको भिड यति बाक्लो थियो कि पानी नै धमिलो देखिन्थ्यो। पहिले महिला टोली, त्यसपछि पुरुष टोली—सबैले शीतल तर धमिलो त्रिवेणी जलमा स्नान गर्यौँ। नजिकैका मन्दिरहरूमा पुजा–आजा सकाएर तीर्थालुहरू वडिमालिका तर्फ प्रस्थान गरिरहेका थिए। हामी पनि उनीहरूकै लस्करमा मिसियौँ।
विहानपखको एक विशेष दृश्य भने साँच्चै रोमाञ्चक थियो—कालिकोट र बाजुराका पुजारीबीच गजुर तान्ने परम्परा। शताब्दीदेखि चल्दै आएको यस चलनमा आज पनि खोसाखोस, हुटिङ र भिडको उत्साह उस्तै। स्नानपछि गजुर तान्दा यसपटक पनि अनन्त गजुर कालिकोटले जित्यो। हाम्रो टोलीका गिरिजीका भान्जा नै विजयी टिममा रहेछन्—उनको खुसीले हामीलाई पनि आनन्दले भरिदियो।
सत्तरी–अस्सी किलोको गजुर बोकेर पुजारीसहित सरकारी टोली अघि लाग्यो। विहान ८ बजेतिर हाम्रो यात्रा पनि विधिवत् सुरू भयो।
उकालो बाटो, हरिया पाटन, पारिलो घाम र तीर्थालुको लस्कर—सबैले पदयात्रा एकदमै रोमान्चक बनाइरहेको थियो। त्रिवेणीधामबाट नजिकै देखिने मालिका मन्दिर जति–जति हिँड्दा पनि उति–उति टाढा लाग्थ्यो। स्थानीयलाई तीन घण्टाको बाटो, नयाँ यात्रुलाई भने छ–सात घण्टा। तर कठिनाइभन्दा बढी आनन्द नै अनुभव हुन्थ्यो।
संगिनी अम्बिका शाह जोशले भरिएकी थिइन्। उनको आँखामा एउटै लक्ष्य थियो—मालिकामाईको दर्शन। धनलक्ष्मी पनि उनीसँगै दङ्ग थिइन्। मैले भने यात्रा सहज बनाउन अदुवा, कागती, टिमुरको अचार, गुलियो विस्कुट र पानीको भरोसा लिएको थिएँ। लेक लाग्न नदिन ती नै हाम्रो उपचार थिए।
लौरी विनायकमा पुग्दा (करिब ११ बजे) मिनराज शाही फेरि भेटिए। हरेकलाई एउटा–एउटा गरेर ११ रोटि ल्याएका रहेछन्। पानीको हाहाकार भएको ठाउँमा उनले स्थानीयसँग मिलाएर हाम्रो लागि सित्तैमा बोतल ल्याइदिए। यस्तो बेला स्थानीयको सहयोग साँच्चै वरदानसरह लाग्छ। त्यहाँ फूल, धजा, अक्षता चढाएर हामी फेरि अघि बढ्यौँ।
जति उकालो चढे पनि मालिका मन्दिर नजिकै देखिन्थ्यो तर पुग्ने नामै लिँदैनथ्यो। यही यात्राको विशेषता पनि यही—दर्शन पाउनु सजिलो होइन, परिश्रम, श्रद्धा र धैर्यले मात्र सम्भव हुन्छ।
बीचमा कतैकतै रेलिङसहितका साँघुरा बाटाहरू—दुवै तर्फ भीर हेर्दा मन सिरिङ्ग हुन्थ्यो। कतै बाटो जाम हुन्थ्यो, प्रहरी र स्वयंसेवकले बुढाबुढीलाई प्राथमिकता दिँदै बाटो पार गराइरहेका देख्दा भावुक भइन्थ्यो।
अन्ततः करिब १ बजे हामी वडिमालिका मन्दिर तलपट्टि पुगेँ। त्यहाँ नयाँ धर्मशाला बनेको रहेछ—शौचालयसहित। त्यहाँबाट मन्दिर अझ आधा घण्टाको दूरीमा थियो। तर भीड अत्यधिक भएकोले दर्शन पालो आज सम्भव भएन। बिरेन्द्र भाइको सुझावमा हामी धर्मशालामै टेन्ट गाडेर बस्ने निर्णय गर्यौँ।
चारैतिर टेन्ट टाँगिँदै थियो—हामीले पनि हाम्रो आश्रय तयार गर्यौँ। पानी नपरे त टेन्टमुनिको रात आफ्नै किसिमको आनन्द दिने रहेछ। थकाइले शरिर भारी थियो, त्यसैले १२ बजेसम्ममै निद्रामा ढल्कियौँ।
भोलि बिहान १ बजे उठेर अन्तिम उकालो चढ्ने तयारी गर्दै रात काट्यौँ। मालिकामाईको साक्षात्कार अब केही घण्टाको यात्रापछि सम्भव हुने थियो।