नेपालगन्जको सहकारी वित्तीय विकास संस्थामा ३७ करोड बढी रकम हिनामिना गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । सहकारीका अध्यक्ष हरदेवबक्स चौधरी, सिद्धिकुमार महर्जन र सुरत खटिकलाई पक्राउ गरिएको हो ।
अध्यक्ष चौधरीलाई ५ वर्ष कैद, ५० हजार जरिवाना तोकिएको छ। उनी यसअघि एक वर्ष कैद बसेर २५ लाख धरौटीमा छुटेका थिए । जिल्ला अदालतको फैसलालाई उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले सदर गरेसँगै चौधरी, महर्जन र खटिक पक्राउ परेका हुन्।
अदालतले सहकारी घोटालामा १९ जनालाई कसुरदार ठहर गरेको छ। त्यसमध्ये सात जनाले कैद र जरिवाना तिरेका छन्। अरु फरार रहेका छन्। कैद र जरिवाना काटेकासँग पनि बिगो भराउन बाँकी रहेको छ। अदालतले कसुरदारलाई कैद, जरिवाना र बिगोको सजाय सुनाएको छ। २०७६ असोज २८ गते जिल्ला अदालतमा सहकारी ऐन, ठगी र संगठित अपराधमा मुद्दा परेको थियो ।
२०८० पुस २६ गते जिल्ला न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले ४१ जनामध्ये १९ जनालाई कसुरदार ठहर गरेको थियो । २०८२ जेठ १४ गते उच्च अदालतले जिल्लाको फैसलालाई सदर गर्दै जिल्ला प्रशासनको नेतृत्वमा पीडित पक्ष ५ जनासहित विभिन्न निकायका प्रतिनिधि रहने गरी सहकारी सञ्चालक टोली बनाउने र त्यसले विशेष साधारण सभा बोलाउन आदेश दिएको पीडित संघर्ष समितिका सह–संयोजक आशुतोष शुक्लाले जानकारी दिए । जिल्लाको ठूलामध्येको यो सहकारीमा १२ हजार ८ सय ४ जना बचतकर्ता छन् ।
-इकान्तिपुरबाट