☰ open Loading... 27 September 2025|  

सुर्खेत–दैलेख ३३ केभी प्रसारण लाइन मर्मतका कारण विद्युत सेवा आज अवरुद्ध
पश्चिम नेपाल   | ४ आश्विन २०८२, शनिबार ०८:०३

सुर्खेत–दैलेख ३३ केभी प्रसारण लाइन अन्तर्गत पर्ने क्षेत्रहरूमा आज बिहानदेखि दिउँसोसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार, प्रसारण लाइनमा छोइएका रूख तथा हाँगाबिगा काट्ने कार्यका लागि विद्युत आपूर्ति बन्द गर्न लागिएको हो।

प्राधिकरणले जानकारी दिएको अनुसार, आज बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म सो प्रसारण लाइनमा विद्युत प्रवाह पूर्ण रूपमा बन्द गरिनेछ। यस समयमा प्रभावित क्षेत्रहरूमा विद्युत सेवा उपलब्ध नहुने भएकोले उपभोक्ताहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

विद्युत प्राधिकरणका एक अधिकारीले बताए अनुसार, “लाइनमा ठूला रूख र हाँगाबिगा झुण्डिएर जोखिम बढिरहेकोले मर्मतको आवश्यकता देखिएको हो। जनसुरक्षा तथा नियमित आपूर्तिका लागि यो कार्य अत्यावश्यक भएकोले आजको लागि सेवा अवरुद्ध गर्नुपरेको हो।”

विद्युत सेवा अवरुद्ध हुने क्षेत्रहरूमा रहेका ग्राहकहरूलाई असुविधा हुन सक्ने भन्दै प्राधिकरणले क्षमायाचनासमेत गरेको छ। साथै, अत्यावश्यक कामहरू अघि नै सम्पन्न गर्न र वैकल्पिक व्यवस्था मिलाउन सबैलाई अनुरोध गरिएको छ।