दैलेखको दुल्लु क्षेत्रमा शनिबार संयुक्त बजार अनुगमन सञ्चालन गरिएको छ। जिल्ला प्रशासन कार्यालय दैलेखको अगुवाइमा दुल्लु नगरपालिका, इलाका प्रशासन कार्यालय दुल्लु, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेख, तथा इलाका प्रहरी कार्यालय दुल्लुको समन्वयमा गरिएको अनुगमनमा म्याद नाघेका सामाग्री फेला पारिएको छ।
अनुगमन टोलीले दुल्लु बजारका विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानमा दर्ता तथा नवीकरणको अवस्था, बिक्रीमा रहेका उपभोग्य वस्तुहरूको म्याद, मूल्य र सरसफाइ लगायतका पक्षमा निरीक्षण गरेको थियो।
जाँचको क्रममा म्याद गुज्रिसकेका रु १४ हजार ८ सय ३० रुपैयाँ बराबरका सामग्री फेला पारिएको र ती सामग्रीहरू तत्काल नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
साथै, अनुगमनमा संलग्न टोलीले पसले तथा व्यापारीहरूलाई उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने म्याद नाघेका वस्तुहरू बिक्री नगर्न, व्यवसाय दर्ता तथा नवीकरण समयमै गर्न, मूल्य सूची प्रस्ट देखिने ठाउँमा राख्न लगायतका सुझाव र निर्देशनसमेत दिएको थियो।
प्रशासन कार्यालयका अनुसार बजारमा उपभोक्ताको हकहितको संरक्षण र अनुशासित कारोबार सुनिश्चित गर्न आगामी दिनमा पनि यस्ता अनुगमनलाई थप प्रभावकारी बनाइनेछ।