मधेश प्रदेशको महोत्तरीस्थित खयरमारामा बस दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ। घाइतेमध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको सशस्त्र प्रहरी ९ नं गणका एसपी शेरबहादुर अधिकारीले जानकारी दिए।
स्थानीय शुभ स्वस्तिक अस्पतालमा उपचार हुन नसकेपछि हेलिकोप्टरमा राख्न अस्पतालबाट सशस्त्र प्रहरीको एम्बुलेन्स प्रयोग गरिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बर्दिबास–१० का ४४ वर्षीया निर्मला तमाङ, ४२ वर्षीय दिर्जमान गोले, १६ वर्षीया अस्मिता गोले २० वर्षीय सुनिता बिक, १३ बर्षीय प्रभाकर खड्कासहित ६ जनालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो। बस दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरूको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार गराइएको थियो।
शुक्रबार बिहान घारीबथानबाट खयरमारा हुँदै काठमाडौं जान लागेको ना६ख १४६४ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। खयरमारा स्कुलअगाडि बसको ठक्करबाट पैदल यात्रु चुल्हाई चौधरी र दुर्घटनामा घाइते भएका सर्लाही ईश्वरपुरका १२ वर्षीय प्रवीण खड्काको उपचार क्रममा मृत्यु भएको थियो। घट्नाको उद्धार गर्न नेपाल प्रहरी सशस्त्र प्रहरी दुवै खटिएको थियो। सशस्त्र प्रहरीका मधेश प्रदेशका बाहिनीपति डिआइजी कृष्ण ढकाल आफै घट्नास्थल पुगेका थिए। नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली दुवै परिचालित भएको थियो।