बागलुङको गलकोटमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
ताराखोलाबाट हटियातर्फ आउँदै गरेको पिकअप जीप दुर्घटना हुँदा २४ वर्षीय युवकको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ग १ ज ६१०० नम्बरको पिकअप जीप गलकोटको गाईघाट नजिकै चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल खसेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका गलकोट नगरपालिका-३ का २४ वर्षीय दिनेश थापाको उपचारका क्रममा गलकोट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो।
त्यस्तै, दुर्घटनामा घाइते भएका ४३ वर्षीय विरबल परियारलाई थप उपचारका लागि पोखरा पठाइएको छ। उनको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको छ। अर्का घाइते २४ वर्षीय मिलन परियारको अवस्था पनि मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटना हुँदा जीपमा ८ जना यात्रु सवार थिए। प्रहरीले जीपका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।