☰ open Loading... 9 October 2025|  

बाँकेका केही क्षेत्रमा निषेधाज्ञा जारी
पश्चिम नेपाल   | १९ आश्विन २०८२, आईतवार ०७:०५

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। दुर्गा मूर्ति विसर्जनका क्रममा शुक्रबार दिउँसो दुई समुदायबिच झडप भएपछि शनिबार निषेधाज्ञा जारी गरिएको हो। प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले शनिबार साँझ ७ बजेदेखि अर्को सूचना नआउन्जेल निषेधाज्ञा जारी गरिएको जानकारी दिए।

निषेधाज्ञा लागेका क्षेत्रहरूमा नेपालगन्ज उपमहानगरपालिका–१४ को सम्पूर्ण क्षेत्र, वडा नं। १५ को सुइया र पिप्रहवा, वडा नं। २३ को भजिपुरवा, जंगलिपुरवा र लोहरनपुरवा छन्। साथै, डुडुवा गाउँपालिका–६ र नरैनापुर गाउँपालिका–५ का सम्पूर्ण क्षेत्रसमेत निषेधाज्ञामा परेको छ।

प्रशासनले डुडुवा गाउँपालिका–६ हिरमिनियामा केही घुम्ती पसलमा आगजनी भएको र हुलदंगा फैलिन सक्ने अवस्था देखिएको बताएको छ। त्यसैले शान्ति र सुव्यवस्था कायम राख्न सबै प्रकारको भेला, जुलुस, सभा, सम्मेलन र ५ जनाभन्दा बढी व्यक्तिको जमघटमा रोक लगाइएको छ।