शहरी विकास तथा भवन कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षभित्र बाँके जिल्लाका विभिन्न स्थानमा जनताको आवास निर्माण कार्य अघि बढाउने भएको छ ।
‘जनता आवास कार्यक्रम’ अन्तर्गत तीन पालिकामा आठवटा घर निर्माण गर्न लागेको हो । नेपालगन्ज उपमहानगरपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकामा आवास निर्माणको प्रक्रिया सुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका–१७ मा ३ घर, जानकी गाउँपालिका–६ मा १ घर, सोही गाउँपालिका वडा नम्बर १ मा २ घर र खजुरा गाउँपालिका–३ मा २ घर निर्माण गरिने कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सो कार्यक्रमअन्तर्गत निर्माण हुने आवास विपन्न, भूमिहीन र आवासविहीन परिवारका लागि लक्षित गरिएको हो । आवास निर्माण गर्न स्थानीय तहको सिफारिस र लाभग्राही छनोट प्रक्रिया सुरु भएको छ ।
निर्माण कार्यबारे जानकारी दिँदै शहरी विकास तथा भवन कार्यालयका प्रमुख इञ्जिनियरले भने, ‘यो कार्यक्रम विशेषगरी अत्यन्तै विपन्न, एकल महिला, दलित तथा अपांगता भएका नागरिकका लागि हो । जसले अहिलेसम्म पक्की छाना पाएका छैनन्, उनीहरूलाई यो योजनाबाट सुविधा पुर्याउने लक्ष्य छ ।’