सामाजिक विकास कार्यालय दैलेखको आयोजनामा राउटे समुदायका लागि लक्षित शिक्षा, स्वास्थ्य प्रवर्द्धन तथा क्षमता विकासका सामग्री वितरण गरिएको छ।
लेखबेसी नगरपालिका–८, सुर्खेतमा सम्पन्न कार्यक्रममा समुदायका सदस्यहरूलाई दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सामग्रीहरू वितरण गरिएको हो। सामग्रीहरूमध्ये चामल ४० बोरा, खुर्सानी ४० केजी, नुन ४० केजी, नुहाउने साबुन ८० पिस, लुगा धुने साबुन ८० पिस, श्याम्पु ८० पिस, तिरपाल ४० थान तथा लेखनपठनका लागि आवश्यक ट्याप १२ थान रहेका छन्।
यस कार्यक्रमले राउटे समुदायको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ। शिक्षा र स्वास्थ्यका क्षेत्रमा पहुँच विस्तार गर्दै उनीहरूको क्षमता अभिवृद्धिमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ सामग्री वितरण गरिएको सामाजिक विकास कार्यालय दैलेखले जनाएको छ।
कार्यक्रममा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, सामाजिक विकास समितिका सभापति पूर्ण चालिस, सामाजिक विकास कार्यालय दैलेखका प्रमुख लोकेन्द्रबहादुर बिष्ट, दैलेखका प्रमुख जिल्ला अधिकारी लगायत सहभागी रहेको थियो। त्यस्तै सामग्री वितरण कार्यक्रममा सरकारी कर्मचारी, तथा समुदायका अगुवाहरूको समेत उपस्थिति रहेको थियो।
