☰ open Loading... 4 November 2025|  

आज आस्थाको महापर्व छठ
पश्चिम नेपाल   | १० कार्तिक २०८२, सोमबार ०७:५०

दीपावली र भाइटीका (भातृद्वितिया) लगायतका पर्वहरू सम्पन्न भएलगत्तै मिथिलाञ्चलमा आस्थाको महापर्व छठको रौनक सुरु भएको छ। मिथिला क्षेत्रका प्रमुख पर्वहरूमध्ये छठको विशेष स्थान छ। यस पर्वको तयारी ५ देखि ७ दिनअघि नै सुरु हुने गर्दछ र कार्तिक शुक्ल चतुर्थी तिथिबाट विधिवत् सुरु भई कार्तिक शुक्ल सप्तमीका दिन बिहान उषा अर्घ दिएर सम्पन्न हुन्छ।

यो पर्वमा मुख्यगरी प्रत्यक्ष देवता सूर्यदेवको उपासना गरिन्छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिक कालदेखि नै विद्यमान छ । छठ पर्वमा गरिब–धनी, ब्राह्मण–दलित, उच्च–निम्न सबै वर्गका मानिसहरू एकैसाथ सहभागी हुन्छन् । सामाजिक विभेद र छुवाछुतजस्ता विकृति हटाउँदै यसले समानता र सद्भावको सन्देश दिने पर्वका रूपमा छुट्टै पहिचान बनाएको छ । संस्कृतिविद् डा. रेवतीरमण लालका अनुसार, “छठ त्यो विशुद्ध वैदिक संस्कार हो जसले समाजमा समानता, संयम र आत्मशुद्धिको अभ्यास गराउँछ।”