सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरबाट कारागारबाट फरार एक कैदीसहित पाँच जना व्यक्तिलाई लागुऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले प्राप्त गोप्य सूचनाका आधारमा कात्तिक १४ गते (२०८२/०७/१४) दुई फरक स्थानमा गरेको कारबाहीमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पहिलो घटनामा, वीरेन्द्रनगर नगरपालिका–७ मा दिउँसो करिब २:३० बजे प्रहरीले शंकास्पद अवस्थामा फेला पारेका नरेन्द्र ठाडालाई पक्राउ गरेको हो। उनको शरिर र घर कोठा खानतलासी गर्दा ५३० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, ठाडा लागूऔषधसम्बन्धी मुद्दामा काठमाडौंको जगन्नाथदेवल कारागारमा कैद सजाय भोगिरहेका थिए। तर, उनी २०८२ साउन २४ गते ‘जेन–जी आन्दोलन’को क्रममा कारागारबाट फरार भएका थिए। ठाडासँगै सोही ठाउँकी १९ वर्षीया ललिता तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ।
त्यसैगरी, सोही दिन साँझ करिब ८:३० बजे वीरेन्द्रनगर–११ शुव्वाकुना क्षेत्रमा प्रहरीले अर्को समूहलाई नियन्त्रणमा लिएको छ। नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र. ०२–००१ ज. ०७०९ नम्बरको ई–भि गाडीमा सवार तिन जनाको शरिर खानतलासी गर्दा २ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर–११ का १८ वर्षीय बिशाल ठाडा मगर, वडा नं. १२ का २२ वर्षीय राजु सुनार र वडा नं. ७ का १८ वर्षीय रमेश सुनार रहेका छन्।
पक्राउ परेका सबैजनालाई लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी म्याद थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
