अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा सडक स्तरोन्नति ठेक्कामा मिलेमतो गरी राज्यलाई करिब ५६ लाख रुपैयाँ हानि पुर्याएको भन्दै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना र एक निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले ५५ लाख ८९ हजार ६३ रुपैयाँ ६ पैसा बिगो कायम गरी सोमबार आरोपपत्र दायर गरेको हो। आयोगका अनुसार त्रिपुरासुन्दरी नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा वडा नं-५ स्थित खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नतिको लागि बोलपत्र आह्वान गरेको थियो।
उक्त ठेक्का प्रक्रियामा मिलेमतो गरी दिव्या निर्माण सेवा प्रा.लिलाई ठेक्का दिइएको उजुरी परेपछि आयोगले अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा बोलपत्र मूल्यांकन समितिले सार्वजनिक खरिद ऐन र नियमावलीमा अनिवार्य नभएको कम्पनी मालिकको नागरिकता जस्ता शर्त थपेर अन्य ६ प्रतिस्पर्धी कम्पनीलाई जानीबुझी प्रक्रियाबाट हटाएको खुलेको छ।
रोचक त के छ भने, ठेक्का पाउने दिव्या निर्माण सेवाले समेत उक्त कागजात पेश नगरेको भए तापनि उसलाई भने योग्य ठहर गरिएको थियो।
मिलेमतोको पुष्टि सबैभन्दा न्यूनतम रकम (२४,७३,६१५) कबोल गर्ने कृष्ण निर्माण सेवा र सबैभन्दा अधिकतम रकम (८०,६२,६७८) कबोल गर्ने दिव्या निर्माण सेवा बीचको अप्राकृतिक सम्बन्धबाट पनि भएको आयोगको दाबी छ।
दुवै फर्मको ‘लेटर अफ बिड’ मा एकै व्यक्तिले हस्ताक्षर गरेको, घोषणापत्रलगायतका कागजातको ढाँचा र मिति समेत एउटै रहेको पाइएको थियो।
मूल्यांकन समितिले बदनियतपूर्वक कम रकम कबोल गर्नेलाई अयोग्य घोषणा गरी सबैभन्दा बढी रकम कबोल गर्ने दिव्या निर्माण सेवालाई ठेक्का दिएर राज्यकोषमा ५५ लाख ८९ हजार ६३ रुपैयाँ ६ पैसा नोक्सानी पुर्याएको आरोपपत्रमा उल्लेख छ।
साथै, अन्य बोलपत्रदाताले खरिद निर्णयमाथि पुनरावलोकनको निवेदन दिन नसकून् भनेर निवेदन दिने अन्तिम दिन मात्र पत्रिकामा सूचना प्रकाशित गरी उनीहरुलाई वञ्चित गराइएको थियो।
आयोगले नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्ण बहादुर कार्की, प्रशासकीय अधिकृत हिरा चन्द्र धराला, शिक्षा अधिकृत भिम बहादुर थापा, वरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा र एमआईएस अपरेटर हरिचन्द्र बिष्टलाई प्रतिवादी बनाएको छ।
त्यसैगरी, बोलपत्र मूल्यांकन समितिका सदस्य इन्जिनियर शिशिर कुमार गुरुङ तथा ठेक्का पाउने दिव्या निर्माण सेवा प्रा.लि., दुनै, डोल्पा र उक्त कम्पनीका प्रोप्राइटर भीमराज न्यौपानेविरुद्ध पनि मुद्दा दायर भएको छ।
आयोगले उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो असुल गरी कैद र जरिवानाको मागदाबी गरेको छ।
