दैलेखको डुंगेश्वर गाउँपालिकाको मुकामसम्म पुग्ने सडक अब छिट्टै कालोपत्रे हुँदैछ । कर्णाली प्रदेश प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमले माथिल्लो डुंगेश्वरदेखि डाँडाँपराजुलसम्मको सडक कालोपत्रे गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
मुख्यमन्त्री यामलाल कँडेलले आइतबार यो सडक खण्डको स्थल अनुगमन गरेका छन् । विश्व बैंकको ऋण सहयोग, संघ सरकारको समन्वय, स्थानीय तहको सहयोग र प्रदेश सरकारको कार्यान्वयनमा निर्माण हुँदै गरेको यो आयोजना पूर्वाधार विकास कार्यालयमार्फत संचालन भइरहेको हो । कार्यक्रमका प्रतिनिधि यगेन्द्र धरालका अनुसार सडक कालोपत्रेको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढिरहेको छ ।
करिब ८ किलोमिटर सडक कालोपत्रेका लागि २८ करोड १२ लाख ७५ हजार ९ सय ३७ रुपैयाँमा श्री अमर–खड्काकृष्ण–वासना जेभीले सम्झौता गरि काम थालेको हो ।
साइड इन्चार्ज हिक्मतबहादुर बमका अनुसार अहिलेसम्म करिब ३५ प्रतिशत काम सम्पन्न भइसकेको छ । उनले वैशाख–जेठ भित्रै कालोपत्रे कार्य पूरा हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममार्फत प्रादेशिक सडकहरूको स्तरोन्नति, आवधिक तथा नियमित मर्मतसम्भार, र स्थानीय तहका केन्द्रहरूलाई वर्षैभरि सञ्चालन हुने सडकसञ्जालले जोड्ने लक्ष्य लिइएको छ । अनुगमनमा पुगेका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव अर्जुनबहादुर बमका अनुसार लक्ष्यभन्दा अगाडि नै काम सक्ने गरी निर्माण व्यवसायीले गति बढाएका छन् ।
