☰ open Loading... 28 November 2025|  

बालिकामाथि ललाईफकाई जबरजस्ती करणी गरेको आरोपमा होस्टेल सञ्चालक पक्राउ
पश्चिम नेपाल   | ९ मंसिर २०८२, मंगलवार १४:०४

सुर्खेतको पंचपुरी नगरपालिका–५ बाबियाचौरस्थित श्री सरस्वती विद्या निकेतन ईङ्गलिस बोर्डिङ स्कुलको होस्टेलमा बस्ने १२ वर्षीया बालिकामाथि ललाई–फकाई जबरजस्ती करणी गरेको आरोपमा होस्टेल सञ्चालक महेन्द्र अर्याल पक्राउ परेका छन्।

मंसिर ३ गते राति करिब ९ बजे कक्षा ५ मा अध्ययनरत बालिकालाई अर्याल (उमेर करिब ४० वर्ष) ले फकाईफुलाई लिएर फरार भएको भन्ने जानकारी इलाका प्रहरी कार्यालय बाबियाचौरमा प्राप्त भएपछि तत्काल प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी नायब निरीक्षक भूपेन्द्र शाहीको कमाण्डमा पाँच जनाको टोली पठाइएकामा राति करिब १२ बजे बाचकाँडा भन्ने स्थानमा लुकिछिपि बसेको अवस्थामा अर्याललाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ।

बालिकामाथि जबरजस्ती करणी गरिएको प्रारम्भिक आरोपका आधारमा पक्राउ परेका अर्यालमाथि इलाका प्रहरी कार्यालय बाबियाचौरमा आवश्यक कानुनी प्रक्रिया सहित थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।