☰ open Loading... 27 April 2024|  

सुर्खेतकाे जन माविसहित प्रदेश ६ का ११ विद्यालय ‘क्षेत्रगत नमुना घाेषित’
  | २५ असार २०७४, आईतवार १७:५६

सुर्खेत । सुर्खेतका तीन विद्यालयसहित प्रदेश नम्बर ६ का ११ वटा विद्यालय जिल्लागत निर्वाचन क्षेत्रगत नमुना विद्यालय विकासका लागि घाेषित भएका छन् । शिक्षा विभागले प्रदेश ६ का ११ विद्यालयसहित देशभरका १६७ विद्यालयलाई नमुना विद्यालय विकासका लागि घाेषित गरेको हो ।

सुर्खेतस्थित जनमावि प्रथाना गर्दै विद्यार्थीहरु ।

सुर्खेतको वीरेन्द्रनगरमा रहेको जनमावि, गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय मावि बडाखोली, बराहतालको जनज्योति मावि बड्डीचौर छनोट भएका छन् । यस्तै, प्रदेश ६ को दैलेखको हिमालय मावि डाँडीमाडी, सल्यानको जनकल्याण मावि थरमारे र त्रिभुवन जनता मावि लुहापिङ, रुकुमको राप्ती ज्ञानोदय मावि सिल्ली र त्रिवेणि मावि सिम्रुतु, कालिकोटको महादेव मावि फाइकोट, जुम्लाको चन्दननाथ मावि खलंगा र डोल्पाको आर्दश मावि जुफला रहेका छन् ।

विभागले नमुना विद्यालय छनोटका लागि सातवटा सूचकलाई आधार बनाएको थियो । मुख्यगरी, माध्यमिक तह ११ र १२ मा पढाइ हुने विषयहरु, विद्यालयसंग भएका जग्गाको प्रयाप्तता, विद्यार्थी अनुपात एसइइ नतिजा, स्थानीय समुदायमा विद्युत इन्टरनेट सुविधा, विद्यालयको अवस्थिति र विद्यालय गाभेर सञ्चालन गर्ने अवस्थाका आधारहरु पूरा गरेका विद्यालय छनौटमा परेको विभागले जनाएको छ ।

नमुना विद्यालय छनोट भएपछि जनमाविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइरालाले आफ्नो विद्यालय नमुना छनोट भएको खुसी व्यक्त गरे । उनले विद्यालयमाथि लाग्ने गरेका आरोपहरु छनोटमा परेपछि सवै मिथ्या रहेछन् भन्ने पुष्टी भएको बताए ।

प्रदेशकै प्रतिष्ठित विद्यालयलाई नमुना विद्यालय बनाउन गरेको मेहनतले अाज सार्थकता पाएको उल्लेख गर्दै उनले भने,–‘आगामी दिनमा जनमावि विद्यालयलाई प्रदेशकै उत्कृष्ट शैक्षिक केन्द्रको रुपमा विकास गर्न कुनै कञ्जुसाइ गर्ने छैनौं ।’