आजभोली केमा व्यस्त हुनुहुन्छ ?
६ नम्बर प्रदेश प्रहरीको जिम्मेवारी पाएसंगै मैले यस क्षेत्रको अध्ययन गरिरहेको छु । प्रदेशबारे म पहिला नै जानकारी छु तर पनि यहाँका समस्या, शान्ति सुरक्षाको अवस्था, यहाँका नागरिकहरु प्रहरीबाट के चाहन्छन भन्ने विषयमा छलफल तथा अध्ययनमा छु । यहाँका सवै सरोकारवाला निकायसंग बसेर शान्ति सुरक्षा कायम गर्ने विषयमा कसरी अघि बढ्न सकिन्छ भन्ने योजना निर्माणमा जुटेको छ ।
प्रदेश ६ भौगोलिक रुपमा विकट क्षेत्र हो । समग्रमा प्रदेश सुरक्षामा कस्ता खालका योजनाहरु निर्माण गरेर अघि बढ्दै हुनुहुन्छ ?
प्रदेश ६ का १० जिल्लामा हाल झण्डै ६ हजार प्रहरी जनशक्ति परिचालन छ । सवै ठाउँमा प्रहरी राख्दैमा शान्ति सुरक्षा पनि त हुँदैन् । तर मेरो तर्क भनेको हाम्रो समाज नै शान्ति सुरक्षा कायम गर्नमा अग्रसर हुनुपर्छ । प्रहरीबाट नागरिकहरु के चाहन्छन भन्ने तार्किक कुरो आएपछि हामीलाई शान्ति सुरक्षा कायम गर्नमा पनि सहयोग पुग्छ ।
म प्रदेश ६ को प्रहरी प्रमुखमा आइसकेपछि मेरो पहिलो प्राथमिकता ग्रामिण र विकट वस्तीका नागरिकहरुसंग नजिक भएर उहाँहरुका भावना समेट्ने प्रयास गर्नमा अग्रसर छु । र यो हैन की शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्रहरीको मात्रै हो । यही समाजमा बस्ने नागरिकले सूचना दिएपछि हामीले पुग्ने त हो नी । त्यसैले हरेक नागरिक विना बर्दीका प्रहरी हुन् । उनीहरुले दिएको सूचनाका आधारमा हामीले अनुसन्धान गर्ने वा अपराधिलाई कानुनी दायरामा ल्याउने काम गर्छौ ।
पक्कैपनि प्रदेश ६ भौगोलिक रुपमा विकट क्षेत्र हो । सवै ठाउँमा म पुग्न नसकेपनि मातहतका प्रहरी चौकीहरुलाई नागरिकहरुका जनगुनासो सुन्ने परिपाटीको थालनी गर्दैछु । प्रहरीबाट नागरिकले ठूलो अपेक्षा राखेका हुन्छन् । विकटमा बस्ती छ, प्रहरी चौकीसम्म आइपुग्न ५ घण्टा लाग्छ तर विचौलीयाले विचमै सिफारिस गर्ने कार्य गरेको हुन्छ ।
तर त्यो वस्तीको वास्तविक आवाज बाहिर आउन सक्दैन् । त्यसैले यस्ता विचौलियालाई ठेगान लगाउन हामी मातहतका प्रहरी चौकीलाई कडा निर्देशन गरेका छौं । वास्तविक पीडित व्यक्तिले न्याय पाउनु पर्छ भन्ने मेरो मान्यता हो । एआईजीसंग नागरिक संवाद कार्यक्रम सञ्चालन गर्दैछु ।
विकट गाउँका नागरिकहरुका पीडा बुझ्न दैनिक विहान र साँझ एक घण्टा नागरिकहरुका गुनासा सुन्न विशेष कार्यक्रम सञ्चालन गर्ने तयारीमा छु । तर यो हैन, की अन्य समयमा नागरिकहरुका आवाज नसुन्ने । म जुनसुकै बेला पनि नागरिकहरुका आवाज सुन्छु । तर विशेष समयमा उनीहरुसंग फोन संवादबाट पीडा बुझ्दा प्रहरीप्रतिको नागरिक बुझाई राम्रो हुन्छ । यसले अपराधिक गतीविधी अन्त्य गर्नमा सहयोग पुग्छ । नयाँ उद्यमीलाई सुरक्षा दिने र गाउँ–बस्तीमै पुगेर नागरिकहरुका पीडा सुन्ने योजनाहरु अघि बढाउँदैछु ।
लागु औषध र अखेटोपहार चोरी निकाशी जस्ता घटना यो प्रदेशका मुख्य चुनौती हुन् । यीनलाई नियन्त्रण गर्न कस्तो रणनीति अपनाउनु भएको छ ?
अवश्य पनि म यहाँ नआउँदै यी समस्या बारे जानकार छु । भौगोलिक रुपमा विकट क्षेत्र भएकाले हिमाली क्षेत्र र राष्ट्रिय निकुञ्जका वन्यजन्तु चीन तथा भारत पु¥याउने जस्ता अपराधिक गतिविधिहरु हुँदै आएका छन् । हामी कहाँ फितलो कानुन भएकै कारण यी घटनाहरु न्युनिकरण गर्नमा चुनौती पनि छन् ।
चीन र भारतसंग सीमाना जाेडिएकै कारण मल्ट्री नेश्नल सञ्जाल यसमा संलग्न हुन्छ । लागु औषध तथा अखेटोपहारको कारोवार रोक्न विशेष प्रहरी दस्ता परिचालन गर्दैछौं । यति मात्रै हैन हामीले यी घटनाहरुलाई रोक्न जिल्लाहुँदै टोलसम्म सुरक्षा समिति गठन गरेर अघि बढ्ने तयारीमा छौं । स्थानीय तहका जनप्रतिनीधीहरुसंग समन्वय गरेर समिति गठन गर्न सक्यौं भने, प्रहरीलाई सूचना संकलनमा सहयोग पुग्छ । स्वयमसेवक समिति निर्माण गरेर अघि बढ्दा यस्ता अपराधिक मानसिकता बोकेका व्यक्तिलाई ठेगान लगाउन सकिन्छ ।
हामीले गाउँ समाजमा हुने व्यक्तिको आचरण रेकर्ड गर्न लागेका छौं । कुनै शंकास्पद तथा गाउँ वा शहरमा आफूलाई मै हुँ भन्ने व्यक्तिको पूरै रेकर्ड संकलन गर्नमा हामी जुटि सकेका छौं । यस्तो किन गर्न लागेको भने, त्यो व्यक्तिले शुरुमै केही नगर्ला तर भोलीका दिनमा त्यसले कुनै अपराधिक गतिविधि गर्न सक्छ ।
त्यो पत्ता लगाउन हामीले केही त्यस्ता व्यक्तिहको रकेर्ड संकलन शुरु गरेको छौं । तर म आम नागरिकलाई के आग्रह गर्न चाहान्छु भने, कम्तीमा तपाईको गाउँ, ठाउँ टोल, छिमेकमा त्यस्ता शंकास्पद कार्य भइरहेको थाहा पाएमा तत्काल प्रहरीलाई खवर गर्नुहोस् । हामी गम्भीरताका साथ त्यस्ता अपराधिक मानसिकता बोकेका व्यक्तिलाई ठेगान लगाउछौं ।
जनताको सेवामा खटिने प्रहरीका संरचनाहरुको अवस्था बेहाल छ, तपाईँको कार्यकालमा ति संरचनाहरु निर्माणमा कस्तो पहल रहन्छ ?
गम्भीर प्रश्न सोध्नुभयो । हामी रातदिन नभनेर जनताको सेवामा सर्मपित छौं । पक्कै पनि प्रदेश ६ मा रहेका कतिपय प्रहरी कार्यालयहरुको अवस्था दयनिय नै छ । म यहाँ आएको एक हप्ता बढी भयो प्रहरीको भौतिक संरचनाको बारेमा पनि बुझेको छु । प्राथमिकताका आधारमा प्रहरी कार्यालय, चौकी तथा पोष्ठहरुको व्यवस्थापन तथा निर्माणका लागि पहली प्रयास गर्नेछु ।
मेरो तहबाट त पक्कै पनि पहली प्रयास हुन्छ नै तर राज्यले पनि गम्भीर भएर यस विषयमा लागेमा राम्रो हुन्छ । योजना तहमा बसेका व्यक्तिहरुले पनि राज्यको शान्ति सुरक्षा कायम गर्ने प्रहरीलाई कस्तो खालको संरचना आवश्यक पर्छ र त्यसको परिपूर्ति गर्न के गर्दा उपयुक्त हुन्छ भन्नेमा ध्यान पु¥याउन आवश्यक छ । यस क्षेत्रका नागरिकहरुको सेवामा खटिने प्रहरी कर्मचारीलाई आवश्यक स्रोत साधनहरु के के हुन तिनको पहिचान गरेर अघि बढ्ने छु ।
कर्णाली क्षेत्रमा जाने वा आउने एक मात्र राजमार्गमा बर्सेनी साना ठुला सवारी दुर्घटना हुन्छन्, सयौं नागरिकहरुले अकालमै ज्यान गुमाउनु परेको छ, सवारी दुर्घटना रोक्न कस्तो गृहकार्यको थालनी गर्दै हुनुहुन्छ ?
म एआइजी नहुँदै कर्णाली राजमार्गमा ठुला–ठुला दुर्घटना भएका खवर सुन्दै आएको थिए । आज म यसै क्षेत्रमा आएर नागरिकहरुको सेवामा खटिएको छु । म यहाँ आए लगत्तै दुर्घटना भएका फायलहरु पल्टाएर अध्ययन गरिसकेको छु । यहाँ मुख्य गरी ७० प्रतिशत चालकहरुको लापरवाहीका कारण सवारी दुर्घटना भएको पाए ।
दुर्घटना रोक्न मैले यहाँका सवारी सञ्चालकहरुसंग बसेर छलफल गरिरहेको छु । साथै, अवको केही महिनामै ‘हाइवे गस्ती’ परिचालन गर्न लागेको छु । मुख्यगरी यो गस्ती सुर्खेत–जुम्ला सडकमा परिचालन हुनेछ । यसका लागि तीन वटा सवारीमा प्रहरीसहितको विशेष टोली खटाउनेछु ।
यसले दुर्घटनामा कमी ल्याउछ नै त्यति मात्रै नभएर राजमार्गमा हुने अपराधिक क्रियाकलाप रोक्नमा सहयोग पु¥याउँछ । यो अभियान अन्तरगत जुम्लाबाट सुर्खेत र सुर्खेतबाट जुम्ला सडक खण्डमा प्रहरीको विशेष टोलीले गस्ती गर्नेछ । यो सडकमा मात्रै नभएर सुर्खेत-जाजरकोट, सुर्खेत-नेपालगञ्ज र सुर्खेत-दैलेख सडकमा पनि हाइवे गस्ती सञ्चालन गर्न लागेका छौं ।
प्रस्तुती सुशील खड्का