☰ open Loading... 26 April 2024|  

टेलिकमले सुरक्षामा ध्यान नदिँदा : बिटिएस टावरहरुमा मनपरी
  | ३० आश्विन २०७४, सोमबार १२:५०

दिपकजंग शाही
जाजरकोट । यहाँको जुनीचाँदे गाउँपालिका २ (साविकको मजकोट गाविस वडा नं. ६) मा नेपाल टेलिकमको स्काई फोन सेवाका लागि टावर (बिटिएस) जडान गरिएको छ । २०६७ सालमा साविकको मजकोट गाविस र दूरसञ्चार प्राधिकरणसंगको समन्वयमा उक्त बिटिएस निर्माण गरिएको हो । टावर निर्माणका लागि साविकको मजकोट गाविसबाट २ लाख ७४ हजार रुपैयाँ समेत सहयोग गरिएको थियो ।

जाजरकोटको जुनीचाँदे–२ मा रहेको स्काइ फोनका टावर सञ्चालनका लागि जडान गरिएको सोलारमाथि गएर फोटो खिच्दै एक जोडी (फोटो फेसबुकबाट)

टावर जडानपछि आफूले प्रत्यक्ष रुपमा आफू बसेकै स्थानबाट मोवाइल (टेलीफोन) सेवा लिन नपाएका नागरिकहरुले सेवा प्राप्त गरे । साविकको मजकोटसहित, दह, कोर्ताङ्ग, गर्खाकोट, सुवानाउली, झाप्रा, पजारु गाविसका स्थानीयहरु उक्त बिटिएस निर्माणपछि टेलिकमका सेवाग्राही बन्न पाए ।

उक्त टावर निर्माण गर्न स्थानीयले श्रमदान गरेर २ कोठाको भवन निर्माण गरेका थिए भने दूरसञ्चारले आवश्यक प्रविधी उपलब्ध गराएको थियो । यस्तै यहाँको सामूदायिक वनले भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको थियो । आवश्यक विभिन्न संरचनाहरु निर्माण गरिए पनि टावरको सुरक्षाका लागि घेराबार भने बन्न सकेन् । जसले गर्दा अहिले त्यहाँको विटिएसमा दिनानुदिन सानो या ठूलो क्षती पुग्ने खालका कार्य भैरहेका छन् ।

टावरमा सुरक्षा गार्डले निगरानी नगर्दा जडान गरिएका विभिन्न सामाग्रीहरु खुला ठाउँमा भएकाले त्यहाँ विद्युतीय क्षमताका लागि राखिएका सोलार प्रणाली (सोलार प्यानल)मा मानिसहरु पुगेर फोटो खिच्ने, त्यहाँ बस्ने, वनमा गएका बालबालिकाहरु सामान जडान गरिएका पोलमा चढ्नेजस्ता कार्यहरु गर्ने गरेका छन् । ट्रान्समिटरलगायतका सामान राखिएको भवनको ढोकामा तालासमेत गतिलो नहुँदा त्यहाँ जाने बालबालिकाहरुले भित्र पसेर सामान चलाउने गरेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले दुर्गम ठाउँहरुमा राखिएका मोवाइल टावर (बिटिएस) को सुरक्षामा ध्यान नदिँदा सेवाको गुणस्तरता कमजोर हुनुका साथै सामाग्रीमा क्षती पुग्न थालेको छ । दूरसञ्चारले दुर्गम क्षेत्रमा जडान गरिएका टावरहरुको जिम्मा सामूदायिक वन, साविकको गाविस तथा सो क्षेत्रका सरकारी निकाय, जग्गादातालगायतलाई सुरक्षाको जिम्मा दिने गरेपछि उनीहरुले लापरबाही गर्ने गरेका छन् ।

मजकोटमा उक्त बिटिएस निर्माणपछि सुरक्षाको जिम्मा सामूदायिक बनले लिएको थियो । टेलिकमले जग्गा उपलब्ध गराएको सामूदायिक बनको खातामा सुरक्षा गार्डलाइ दिने तलबवापत रकम उपलब्ध गराइदिने सम्झौता भएपछि बनले स्थानीय डबलकुमार नाथलाई टावर हेरालु (सुरक्षा गार्ड) नियुक्त गरेको थियो । तर टावर निर्माण भएदेखि सुरक्षा गार्ड नियमित रुपमा त्यहाँ नदेखिने स्थानीयले बताएका छन् ।

टावरबाट टेलीकमले राजस्व लिने भएकाले उसले त्यसको सुरक्षाका साथै निगरानीमा ध्यान दिनुपर्ने साविकको मजकोट गाविसका लेखा सहायक प्रेमबहादुर कार्कीले बताए ।

उता, नेपाल टेलिकम जाजरकोटले जिल्लाका दुर्गममा रहेका विभिन्न बिटिएसहरुमा सुरक्षाको व्यवस्था मिलाइएको दावी गरेको छ । जुन ठाउँमा टावर राखिएको छ त्यहाँको सुरक्षा जिम्मा सम्बन्धित ठाउँका कुनै न कनै व्यक्ति वा निकायलाई दिइने गरेको टेलिकम जाजरकोटका प्रमुख लोकेन्द्र भण्डारीले बताए ।

उनले टावरमा क्षति पुग्ने गरि हुने गरेका क्रियाकलापका बारेमा कुनै जानकारी नआए पनि त्यहाँ तोकिएका सुरक्षा गार्डले लापरबाही गरेको हुन सक्ने स्वीकार गरे ।

प्रमुख भण्डारीले अब ती ठाउँहरुमा एकपटक अनुगमन गर्ने र त्यस्तो पाइएमा सुरक्षा गार्ड वा सुरक्षाको जिम्मा लिएका जिम्मेवारलाई कारबाही गरिने बताएका छन् । प्रमुख भण्डारीका अनुसार हाल जाजरकोटका नायकवाडा, भगवती, पैँक, मजकोट, मझेरी, मछाइना, सल्लीभिरमा बिटिएस टावर जडान गरिएको छ । ती ठाउँहरुमा पनि सुरक्षाको राम्रो व्यवस्था भने नभएको स्थानीयले बताएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरण मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय नेपालगञ्जका बरिष्ठ सहायक केशव विसीले दूरसञ्चारले मूख्य रिपिटर टावरहरुमा सुरक्षा गार्ड नियुक्त गर्ने तर बिटिएसहरुका लागि स्थानीय स्तरमै सुरक्षाको जिम्मेवारी दिइने भएकाले जिम्मा लिएकाहरुबाट लापरबाही भएको हुनसक्ने बताएका छन् । दुर्गममा पुग्न कठिनाइ हुने भएकाले त्यहाँकै सम्बन्धितलाइ सुरक्षाको जिम्मेवारी दिइने भएकाले जिम्मा लिएकाहरुले लापरबाही गर्न नहुने उनको भनाइ छ ।

टेलिकमले टावरहरु जडान गरेपछि दुर्गमका प्रायः नागरिकहरु मोवाइल सेवाको पहुँचमा पुगेका छन् । यसरी जडान् गरिएका टावरहरुमा सुरक्षामा गम्भीर नबन्नु तथा बेलाबेला निगरानी नगरिनाले सेवाग्राहीलाई प्रत्यक्ष असर पर्नुका साथै टेलिकमलाई प्राप्त हुने आम्दानीमा समेत कमी आउने गरेको छ ।