☰ open Loading... 26 November 2024|  

प्रदेश ६ का ७ जिल्लामा थप सुरक्षाकर्मी परिचालन
  | २८ कार्तिक २०७४, मंगलवार ०९:५७

सुर्खेत । आसन्न मंसिर १० गते हुने प्रथम चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रदेश ६ का ७ जिल्लामा थप एक हजार पाँचसय बढीको संख्यामा सुरक्षाकर्मीहरु पठाउने क्रम जारी छ । निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र स्वच्छ बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु थप पठाउन थालिएको हो ।


प्रथम चरण अन्तरगत निर्वाचन हुन लागेका हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालिकोट, जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जिल्लाहरुमा थप सुरक्षाकर्मीहरु सम्वन्धित जिल्लाहरुमा पठाइएको छ । सडक सञ्जाल नपुगेका डोल्पा र हुम्लामा नेपाली सेनाको हेलिकप्टर र सिता एयरको विमानबाट सुरक्षाकर्मी ओसार्ने काम भइरहेको छ ।

बाँकी सडक सञ्जाल पुगेका जिल्लाहरुमा भने स्थलगत रुपमा तीन तहकै सुरक्षाकर्मी पठाउने क्रमपनि जारी रहेको क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतले जानकारी दिएको छ । तीन वटै सुरक्षा निकायले कति संख्यामा सुरक्षाकर्मी पठाउँदैछन् भन्ने विषयमा सुरक्षा सम्वेदनशीलताका कारण एकिन तथ्याङ्क दिन नमिल्ने बताएका छन् ।

मतदान हुने स्थलको सम्वेदनशीलता हेरेर सातै जिल्लामा झण्डै एक हजार पाँच सयबढी सुरक्षाकर्मी पठाइएको क्षेत्रीय प्रशासन कार्यालयले बतायो । तर यी जिल्लामा पहिला नै सुरक्षाकर्मी रहेपनि निर्वाचनलाई लक्षित गरी थप सुरक्षाकर्मी पठाएको कार्यालयले जनायो । मंसिर १० गते हुने निर्वाचनमा प्रदेश ६ का ७ जिल्लाका १९३ मतदानस्थल अति सम्वेदनशील छन् ।

सम्वेदनशीलमा १७८ र सामान्यमा १३९ मतदानस्थल पर्ने गरेको प्रतिवेदन सुरक्षा समितिले निकालेको क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी शोभा अधिकारीले जानकारी दिइन् । उनले निर्वाचन सम्वन्धि सवै गतिविधि बुझ्न नियमित विवरण संकलन गर्ने कार्यपनि जारी रहेको बताइन् ।

विप्लव नेतृत्व नेकपा माओवादीले स्थानीय तहको निर्वाचनमा हिमाली जिल्लाका केही मतदानस्थलमा बुथ कब्जा गरेपछि मंसिर १० गते निर्वाचनको सुरक्षाका लागि यो पटक बढी संख्यामा सुरक्षाकर्मी पठाइएको छ । कालिकोट विप्लव नेतृत्व माओवादीको क्षेत्र मानिएकाले यो पटक सुरक्षा विशेष निगरानी बढाइएको क्षेत्रीय प्रशासन कार्यालयको भनाई छ ।

पहिलो चरणमा निर्वाचन हुने प्रदेश ६ का सवै जिल्लामा मतपत्र र अन्य सामग्रीहरु समेत हवाइमार्ग र स्थलगत रुपमा ढुवानी गरिसकिएको छ । ७ जिल्लाका ६ प्रतिनीधी सभाको सिटका लागि ३१ जना र प्रदेश सभाका लागि १४ सिटमा ५६ जनाको चुनावी मैदानमा छ । १० गते हुने निर्वाचनमा यी जिल्लाबाट कुल तीन लाख ७८ हजार ४२७ जना मतदाता मतदानमा सहभागी हुँदैछन् ।