अकस्मात आएको बाढीले दैलखमा एक जनाको मृत्यु भएको छ भने कर्णाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । दैलेख र कालिकोटको सीमानामा पर्ने दहिखोलामा शुक्रबार साँझ बाढीसंगै पहिरो गएको थियो ।
बाढीले घर पुरिदा पिपलकोट–४ का ३५ वर्षिय गीता थापाको मृत्यु भएको छ । तर सिहासैन–९ का रंग विक वेपत्ता छन् । बाढी आएपछि भाग्दै गर्दा पिपलकोटका विशाल सलामी घाइते भएका छन् । भिषण असिनापानीसंगै आएको बाढीले घर पुरिँदा गिताको मृत्यु भएको स्थानीय व्यापारी गोकर्ण रावतले जानकारी दिए ।
खहरे खोलाको बाढीसँगै आएको पहिरोले दहिखोलाका दर्जन बढी पसलहरु पुरिएका छन् । पहिरोले कालिकोटको भर्ता गाविस र दैलेखको पिपलकोट गाविसको दहिखोलामा पर्ने कर्णाली राजमार्ग समेत बगाएको छ । कर्णाली राजमार्गको मान्म–राकमकर्णाली सडक खण्ड अन्तरगत पर्ने सो सडक पूर्ण रुपमा बाढीले बगाएपछि अवरुद्ध भएको हो ।
बाढीले पिपलाकोटमा ३ पसल, ६ झुप्रा, एक ट्याक्टर बगाएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी वीरबहादुर ओलीले जानकारी दिए । उनका अनुसार कालिकोटको भर्ता गाविसमा ५ घर, एक ट्याक्टर र एक मोटरसाइकल बगाएको छ । तर केही घरहरु बाढीले पुरिएको डिएसपी ओलीले उल्लेख गरे ।
घर बग्नेहरुमा दैलेख पिपलकोट– ४ दहिखोलाका गोकर्ण रावत, कटक थापा, रामबहादुर बस्नेत, भगीराम थापा, नरेन्द्र बस्नेत, हिक्मत रावत, जयबहादुर विष्ट र कृष्णबहादुर थापा रहेका छन् ।
त्यस्तै कालिकोट भत्ता – ६ दहिखोलाका जवनसिह सुनार, दत्तबहादुर रावत, मानबहादुर विष्ट, कलमबहादुर थापा, लालबहादुर कार्की, मानबहादुर बस्नेत र मनोज कार्कीको घर रहेको प्रहरीले जानकारी दिएको छ । दहिखोला आसपास कालिकोट र दैलेखको सिमाना रहेको दहिखोलामा कर्णाली राजमार्ग सञ्चालनमा आएपछि बसेको बजार हो ।
बाढी र पहिरो आएको थाहा पाए लगत्तै ईलाका प्रहरी कार्यालय राकमकर्णालीको प्रहरी टोली पहिलो पटक गएराती नै घटनास्थल पुगेको थियो । रातीमा क्षतीको विवरण संकलन गर्न नसकिएको डिएसपी ओलीले उल्लेख गरे । बाढीले दहिखोलाहुँदै कालिकोट जोड्ने कर्णाली राजमार्गको नाम निसानै बगाएको छ ।
दैलेखका डिएसपी ओलीका अनुसार ठुलो असिना पानी दहिखोला आसपासको चार किलोमिटरसम्म परेको अनुमान छ । ‘अन्य क्षेत्रमा केही पनि क्षती भएको छैन्’ डिएसपी ओलीले भने,–‘दहिखोला आसपासमा मात्रै पसल, घर टहरा र राजमार्गमा क्षती पुगेको छ ।’ तत्काल राजमार्ग सुचारु हुने अवस्था नरहेको पनि डिएसपी ओली बताउँछन् । राजमार्ग सञ्चालन हुन झण्डै एकसाता लाग्ने स्थानीय बताउँछन् ।
शुक्रबार करिव साढे चार बजेतिर एक्कासी असिनापानी परेको थियो । झण्डै आधा घण्टा परेको पानीले यतिको ठुलो भौतिक क्षती भएपनि मानविय क्षती हुन नपाएको स्थानीय व्यापारी रावतले बताए । ‘ठुलो असिना पानी प¥यो, सवै घरभित्रै थियौं’ रावतले भने,–‘एक्काशी खोलाको माथि तिरबाट ठुलो आवाज आएको सुनेपछि हल्ला गरेर सवैलाई भाग्न लगाँदा मानविय क्षती हुन पाएन् ।’
असिना पानी परेको समय दहिखोलामा १२५ बढी बसिरहेका थिए । खोलामा ठुला ढुंगा, काठसहित बगाउँदै बाढी पहिरो आइरहेको थाहा पाउँदा उनीहरुले ज्यान जोगाउन सफल भएको रावतको भनाई छ । ‘नसोचेको यति ठुलो बाढी र पहिरो आयो, यस्तो कहिल्यै देखेको थिएन’ रावतले थपे,–‘ज्यान बच्यो, सम्पत्ती बगाएपनि कुनै चिन्ता छैन्, विस्तारै जोडिएला नी !’
जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख लोकबहादुर क्षेत्री, समसुर गुल्मका गुल्मपति सूर्यकान्त घिमिरे, दैलेखका डिएसपी वीरबहादुर ओली, अनुसन्धान कार्यालयका डिएसपी सुशान बराल, कालिकाटका प्रहरी प्रमुखहरुले संयुक्त रुपमा घटनास्थल पुगेर उद्धार गरेका थिए । बाढीबाट झण्डै २ करोड क्षती पुगेको प्रहरी र स्थानीयको अनुमान छ ।