☰ open Loading... 19 April 2024|  

कृषककै हातमा मौसमी जानकारी
  | ४ जेष्ठ २०७३, मंगलवार ०८:४७

कृषकलाई प्रविधिमैत्री बनाउन सुर्खेतमा नयाँ कार्यक्रम सञ्चालन गरिएको छ । जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुने जोखिमलाई न्यूनिकरण, समय सापेक्ष वास्तविक मौसम तथा बाढी र सुख्खाको प्रक्षेपणलाई सुधार गर्ने उदेश्यले जिल्लामा नयाँ कार्यक्रम सञ्चालन भएको हो ।

कृषि विकास मन्त्रालयले जलवायु प्रकोप समुत्थान निर्माण आयोजना अन्तरगत कृषि व्यवस्थापन सूचना प्रणाली सुर्खेतमा लागु भएको छ । जिल्लाका सवै गाविस र नगरपालिकामा लागु हुने यो कार्यक्रमले जलवायु प्रभावित समुदायहरुलाई मौसम, जलवायु परिवर्तन तथा बाढी सम्वन्धी पूर्व सूचनाहरु कृषकले हातमै मोवाइलबाट थाहा पाउने छन् ।

प्रकोप न्यूनिकरण गर्ने, मौसम तथा बाढी सम्वन्धी पूर्व अनुमान र भविष्यवाणीलाई प्रभावकारी बनाएर जलवायु जोखिम व्यवस्थापनमा सुधार हुने अपेक्षा राखिएको जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका कृषि अधिकृत विष्णु प्रसाद घिमिरे बताउँछन् । सुर्खेतमा यो कार्यक्रम दुई चरणमा लागु हुनेछ । १३ वटा सुचाचंकमा पहिलो चरणमा गाविस र दोस्रो चरणमा समूह छनोट गरिनेछ ।

पहिलो र दोस्रो चरण छनौटपछि समूहका कृषकहरुलाई मौसम सम्वन्धी जानकारी थाहा पाउन करिव ८० वटा मोवाईल सेट दिइनेछ । कृषि विकास कार्यालयले करिव ५० र जिल्ला पशुले ३० वटा मावाईल सेट निःशुल्क बाड्नेछ ।

आयोजना अन्तरगत कृषकहरुले निःशुल्क नेपाल टेलिकमको सिम, डाटा प्याकेज र स्मार्ट फोन सेट पाउनेछन् । यो संगै कृषकले रेनगेज र थर्मोमिटर लगायतका समाग्री समेत पाउने छन् । कृषकलाई दिइने स्मार्ट फोन सेटमा भने जलवायुबाट भविष्यमा हुन सक्ने जानकारी एसएमसबाट सहजै थाहा हुने अधिकृत घिमिरेको भनाई छ ।

उनका अनुसार कृषकले आफ्नो गाउँको मौसम, तापक्रम, खाद्यन्न बाली तथा तरकारीमा लागेको रोगका बारेमा सहजै जानकारी लिन सक्ने छन् । कृषकले लगाएको खाद्यन्न वाली, तरकारीको बजार मुल्य, रोग, कृषि र पशु कार्यालयका नयाँ नीति तथा कार्यक्रम आएका छन भन्नेबारे बुझ्न सम्वन्धीत कार्यालयमा धाउनु पर्ने बाध्यताको अन्त्य हुनेछ ।

जिल्ला कृषि र पशु कार्यालयमा कृषि कल सेन्टर, डिजिटल डिस्प्ले वोर्ड रहनेछ । उत्पादन र उत्पादकत्व वृद्धिका लागि कृषि जलवायु तथा प्रविधि जडित जानकारीमुलक सामग्रीहरु देशका सवै जिल्लामा वेव पार्टलबाट प्रवाह गरेको छ । तर परिक्षणका रुपमा भने २५ जिल्ला छनौट गरिएको घिमिरेले बताए ।

सन् २०१३ जुनबाट लागु भएको यो कार्यक्रम सुर्खेतसंगै हाल १६ जिल्लामा कार्यान्वयनमा छ । सन् २०१८ सम्म लागु हुने यो आयोजनाको दातृ संस्था विश्व वैंकले ३ करोड १३ लाख अमेरिकी डलर सहयोग गरेको छ ।

यो कार्यक्रमले प्रविधिबाट पछाडी परेका कृषकहरुलाई राहत हुने कृषक यामु चालिसेको भनाई छ । कृषकहरुले जलवायु सम्वन्धि जानकारी पाउन नसक्दा ठुलो नोक्सानी बेहोर्नु परेको बताउँदै कृषक चालिसेले अव कृषकहरु प्रविधिमैत्री हुने र उत्पादन पूर्व कस्ता बाली लगायो भने कस्तो प्रतिफल पाइन्छ भन्ने सहजै जानकारी हुने उल्लेख गरिन् ।

तर एसएमएस र कृषि कल सेन्टर प्रभावकारी भए कृषि र पशु कार्यालयबाट धाउन नपर्ने बताउँछिन् । मन्त्रालयले जल तथा मौसम विज्ञान विभागले प्रदान गर्ने सेवामा सुदृढिकरण, अवलोकन सञ्जाल तथा भविष्यवाणी प्रणालीमा आधुनिकीकरण र कृषि व्यवस्थापन सूचना प्रणालीको स्थापना गरेर कार्यान्वयमा जोड दिन लागेको हो ।

कृषि क्षेत्रमा मौसम र जलवायुजन्य जोखिम व्यवस्थापनमा उचित जानकारी प्रदान गरी प्राकृतिक स्रोतको उच्चतम प्रयोगमार्फत कृषकहरुलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको आयोजनाका अनुगमन तथा मुल्यांकन विशेषज्ञ किरणराज मिश्रको भनाई छ ।

यता, जिल्ला कृषि विकास कार्यालय सुर्खेतका वरिष्ठ कृषि विकास अधिकृत विजयकुमार गिरीले सिस्टममा नहुँदा सूचनाबारे कृषकहरु पछि परेको तर्क राखे । उनले माग धेरै र उपलव्धता न्यून भएकाले माथिबाट सवैलाई पुग्नेगरी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए ।

‘कृषि व्यवस्थापन सूचना प्रणाली कार्यक्रम सवै गाविसमा पु¥याउने गरी लैजान आवश्यक छ’ गिरीले भने,–‘प्रविधिमैत्री कृषक बनाउँदा उत्पादनमा वृद्धि र खाद्य संकटमा न्यूनिकरण हुने आशा छ ।’