☰ open Loading... 20 January 2025|  

विवादबीच ‘जय परशुराम’ रिलिज 
  | २८ श्रावण २०७३, शुक्रबार १०:४९

काठमाडाैं, २८ साउन ।

पुनरावेदन अदालत, पाटनले साउन २५ मा ‘परशुराम’ फिल्मसँग मिल्ने कुनैपनि फिल्म निर्माण, प्रचारप्रसार, वितरण एवं प्रदर्शनजस्ता कुनै पनि करा नगर्नू, नगराउनू भनी विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेपछि ‘जय परशुराम’ को रिलिजलाई लिएर अन्यौल बढेको छ ।

jai-parsuram

नवराज घिमिरे निर्देशित ‘परशुराम’ र रोज राणा निर्देशित ‘जय परशुराम’ बीच नामलाई लिएर लामो समय विवाद चल्दै आएको छ । ‘परशुराम’ युनिटले दिएको निवेदनका आधारमा न्यायाधीश जीवनहरि अधिकारीको एकल इजलासले ‘जय परशुराम’ को ब्यानर रेदाअंश सिने आर्ट्सलाई विपक्षी बनाई १५ दिनभित्र लिखित जवाफ माग्दै स्टे अर्डर जारी गरेको हो ।

अदालती आदेश विपक्षीलाई जानकारी गराउनु भनिए पनि ‘जय परशुराम’ का निर्माता तथा निर्देशक राणाले ‘आफुलाई स्टे अर्डरबारे जानकारी नभएको’ बताएका छन् । उनले कान्तिपुरसँग भने, ‘मलाई फिल्म रिलिज नगर्नु भन्ने कतैबाट कुनै जानकारी आएको छैन ।

त्यसैले ‘जय परशुराम’ साबिक मिति साउन २८ देखि नै देशभर लाग्नेछ ।’ राणाले थपे, ‘सम्मानित अदालतले ‘परशुराम’ नामसँग नाम मिल्ने फिल्मलाई सम्बोधन गरेको हो, हाम्रो ‘जय परशुराम’ लाई हैन ।’

त्यसो त ब्यानरको नाम नै विपक्षी बनाइएको विषयमा भने उनले भने, ‘ब्यानरले धेरै फिल्म, टेलिफिल्म बनाउन सक्छ । ब्यानर भनेको केवल ‘जय परशुराम’ मात्रै हैन ।’ त्यसो त राणाले आफ्नो फिल्मको प्रचार प्रसार पनि यथावत राखिरहेकाले रिलिज गर्न पनि समस्या नपर्ने दाबी गर्छन् ।

उता, चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राईले पनि ‘जय परशुराम’ रिलिज हुने उल्लेख गर्दै भने, ‘एक त अदालतको पत्रबारे हामीलाई जानकारी छैन । दोस्रो, मिडियामा आए अनुसार, त्यसमा ‘जय परशुराम’ रिलिज नगर्नू कतै भनिएको छैन ।’

उनले विगतमा पनि ‘तँ त साह्रै बिग्रिस नी बद्री’ र ‘तँ त साह्रै सप्रिस नी बद्री’ जस्ता फिल्म बनेको र चलेको दृष्टान्त दिंदै र झन्डै मिल्दोजुल्दो नाम भएका थुप्रै फिल्म निर्वाध चलेको भन्दै राणाको ‘जय परशुराम’ पनि बिना रोकतोक चल्नेमा विश्वस्त रहेको बताए ।

‘जय परशुराम’ मा विराज भट्ट, निशा अधिकारी, रबिन तामांग लगायतको मुख्य भुमिका रहेको छ । एक्सनप्रधान उक्त फिल्मबाट विराजले नेपाली फिल्म क्षेत्रमा कमब्याक गर्न लागेका हुन् ।

केही वर्षदेखि विराज भोजपुरी फिल्ममा नायकको रुपमा व्यस्त रहँदै आएका थिए ।